पाेखरा महानगरकाे सर्वाधिक लाेकप्रिय मत मञ्जु गुरूङलाई, बनिन् उपमेयर

-



     सफल आवाज    
     जेठ ११ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ११ जेठ । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा सबैभन्दा बढी लाेकप्रिय मत ल्याएर नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएकि छन् ।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरे ।

आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याए । यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरिन।

पोखराको प्रमुखमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । यसैगरी उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी भइन ।

गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी रानाभाटले ५६ हजार ६६३ मत ल्याइन। उपप्रमुखमा राप्रपाका रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशील साझाका माधव भण्डारीले २६४ र आमुल परिवर्तन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी मैदानमा थिए। पोखरा महानगरका ३३ वडामध्ये कांग्रेसले २३, एमालेले नौ र वडा नं २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भए । विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २२ वडामा एमाले विजयी बनेको थियो ।

सबैभन्दा बढी लाेकप्रिय मत पाएकि मञ्जु गुरुङको राजनीतिक यात्रा:-

२०३६ सालको विद्यार्थी आन्दोलनबाट उनी प्रभावित भएकी हुन् । २०१८ साल मंसिर १६ गते जन्मिएकी गुरुङको २०३८ सालमा विवाह भयो र राजनीतिमा क्रियाशील हुन पाइनन् ।

उनले पर्वत आर्थर डाँडाखर्कका मेखबहादुर गुरुङसँग विवाह गरिन् । विवाह भएको ११ वर्षपछि ०४९ साल साउनमा श्रीमान्को जहाज दुर्घटनामा परेर निधन भयो ।

मञ्जुदेवी नेकपा एमालेमा संगठित भएको भने साढे दुई दशक अघिदेखि नै हो । ०५५ मा वडा कमिटीबाट उनी राजनीतिमा प्रवेश गरेकि हुन् । तर, त्योभन्दा अघि नै एमालेको महिला संगठन, अखिल नेपाल महिला (अनेम) संघमा उनी आवद्ध भएकि थिईन ।

२०५० मै अखिल नेपाल महिला संघको सदस्यता लिएको मञ्जुले बताईन । उनी अहिले नेकपा एमालेको केन्द्रीय सदस्य रहेकि हुन् । उनले अखिल नेपाल महिलासँग र पार्टीका विभिन्न तहमा रहेर काम गरिसकेकि छन् भने उनी विभिन्न सामाजिक संस्थामा पनि आवद्ध छन् ।