इराकी प्रधानमन्त्री इरान र साउदी अरेबिया जाने

-



     सफल आवाज    
     असार १२ गते २०७९ मा प्रकाशित



बागदाद, १२ असार । इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जान लागेको बताइएको छ । इराकी सरकारी समाचार समिति आइएनएले सो कुराको जानकारी दिएको छ । उनी अर्को हप्ता इरान र साउदी अरेबिया जान लागेको सो समाचारमा जनाइएको छ ।

उनले ती देशमा गएर त्यहाँका नेताहरुसँग प्रत्यक्ष वार्ता गर्ने भएको सो समाचार समितिले जनाएको छ । उनी पहिला इरान पुग्ने र इरानका नेताहरुसँग द्धिपक्षीय भेटवार्ता गर्नेछन् । त्यसपछि उनी साउदी अरेबियाको भ्रमणमा जाने भएको समाचारमा जनाइएको हो ।

यही जुन ९ तारिखमा इराकी विदेशमन्त्रीले इरानका विदेशमन्त्रीसँग इराक इरानसँगको वार्ताका लागि तयार भएको र आगामी दिनमा दुई देशको सम्बन्ध र अन्य विषयाहरुमा वार्ता अघि बढाइने छ भनेका थिए। क्षेत्रीय सुरक्षा तथा खाडी राष्ट्रहरुको राजनीतिक अवस्थाका बारेमा इराकले वार्तालाई जारी राखेको छ ।

इराकले गत वर्षमात्र पनि इरान र अन्य खाडी देशहरुसँग वार्ता निरन्तर गरेको थियो । साथै इराकले इरानसँग गत वर्षमात्र पनि चार राउण्डमा वार्ता गरेको थियो । आणविक उर्जा तथा अन्य विषयमा अमेरिकासँग इरानको विवाव जारी रहेका बेला इराकले वार्ता अघि बढाउने भएको हो ।