कोभिड १९ को लागि चन्द्रागिरि नगरपालिकाकाे दुई करोड २७ लाख १६ हजार खर्च

-



     सफल आवाज    
     असाेज १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ असोज । चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको संक्रमण, रोकथाम, नियन्त्रण तथा संक्रमितहरुको उपचारको लागि दुई करोड २७ लाख १६ हजार ९५९ रुपैयाँ खर्च गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नगरपालिकाले शुरु गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको लागि नगरस्तरिय विपद ब्यबस्थापन कोषमा विभिन्न संघ, संस्था र व्यक्तिबाट रकम जम्मा भएको उल्लेख गरेको छ । विभिन्न संघ, संस्थाबाट ११ लाख ७४ हजार २१० रुपैयाँ जम्मा भएको विवरण खुलाएको छ ।

यस्तै, बाग्मती प्रदेश सरकारबाट १२ लाख प्राप्त भएको जनाएको छ । नगरपालिकाका १५ वटा वडाहरुबाट भएको राहत खर्च १ करोड ६४ लाख ३१ हजार ९८८ रुपैयाँ रहेको छ । स्वाब परिक्षण, औषधी खरिद, स्प्रे, प्रचार प्रसार, एम्वुलेन्स संचालन र विभिन्न गरी ४० लाख ८१ हजार ९२३ खर्च भएको जनाएको छ ।

नगरपालिकाले क्वारेन्टाईन निर्माण तथा त्यसको ब्यबस्थापनका लागि २२ लाख ३ हजार ४८ रुपैया खर्च गरेको छ । हालसम्म नगरपालिकाले कोभिड १९ को लागि २ करोड २७ लाख १६ हजार ९५९ रुपैयाँ खर्च भएको आफ्नो वेव साईटमार्फत सार्बजनिक गरेको हो ।