तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे काम ७० प्रतिशत सम्पन्न

-



     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित



ललितपुर, १४ असोज । गोदावरीमा निर्माणाधीन तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सकिएकाे छ। शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा उक्त केन्द्र निर्माण गरिरहेको छ । विभाग र केसी–समानान्तर जेभीबीच विसं २०७६ कात्तिक २० गते सम्झौता भएकाे थियाे । कात्तिक २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । उनले भने, गत वर्षको चैत महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

दुई महिना साइटमा भएका रुख काट्न समय लागेको थियाे । बेलाबेलामा पानी परेर बिहान र बेलुका दुई समय काम गर्ने भनिएकाेमा मौसमले पनि साथ नदिएका कारण तोकिएको समयभित्र सम्पन्न गर्न नसकेकाे बताइएकाे छ । कोभिड १९ काे महामारीका कारण गत वर्षको चैतदेखि असार मासान्तसम्म काम गर्न पाइएन । विगतमा २०० कामदारले काम गरेको स्थानमा हाल केवल ८० जना मात्र खटिएका भट्टले जानकारी दिए । केन्द्रको भवन निर्माणको काम हालसम्म ७० प्रतिशत सम्पन्न भयो । बाँकी ३० प्रतिशत काममा सीमा पर्खाल, प्लास्टर, रङरोगन, एसी र आवश्यक सामान फिट गर्न बाँकि छ । उनले भने, सरकारले महामारीका कारण केन्द्र निर्माणमा छ महिनाको समय थप गरेर आउँदो कात्तिकसम्म सम्पूर्ण काम गरिसक्नुपर्ने भने पनि माघको अन्तिमसम्ममा मात्र काम सक्ने भएका छाैं ।

केन्द्रको भवन निर्माण गर्न शुरु गरेको समयमा आकाशे पानीले मुख्य समस्या पारेर कयौँ दिनसम्म हिँड्न र सवारी साधनमा सामान ढुवानी गर्नसमेत असहज भएको विभागका निर्माण आयोजना समन्वय कार्यालयका साइट इञ्जीनियर विकास खनालले बताए । उनले भने, केन्द्रमा जडान गर्न आवश्यक कुर्चीमध्ये केवल एक हजार ८२५ आइपुगे भने अन्य सीमा नाकामा रोकिएका छन । केन्द्रमा विभिन्न सामान जडान र एसी हाल्न भारतबाट दक्ष जनशक्ति मगाउनुपर्ने हुँदा काममा ढिलाइ भइरहेको खनालले दुःख व्यक्त गरे ।

पच्चीस रोपनी क्षेत्रफल ६० हजार वर्गफिटमा फैैलिएको केन्द्रमा तीन तलाको भवन र एक तलामाथि बीम बस्ने भएको छ । यसमा एक मुख्य भवन त्यसभित्रको ‘ए’ ब्लकमा शौचालय, पाहुनाकक्ष र विशिष्ट व्यक्ति बस्ने ठाउँ हुनेछ । ‘बी’ ब्लकमा तीन हजार क्षमताको कक्ष र ‘सी’ ब्लकमा सानो बैठक कक्ष र हल पनि रहने छ । मुलुकमा लामो समय बन्दाबन्दी नभएको भए केन्द्र निर्माणको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसक्थ्याे जेभी साइटका प्रमुख इञ्जीनियर राकेश यादवले बताए । । उनले भने,आउने दशैँ अघि भवनको सम्पूर्ण संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छाैँ । उक्त केन्द्र निर्माण सम्पन्नपश्चात गोदावरीमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएको छ । तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तत्काल निर्माण सम्पन्न हुनु मुलुककै लागि एक खुशी र गौरवको विषय पनि बन्ने राससले लेखेकाे छ ।