पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला

-



     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित



इस्लामावाद, १४ असोज । कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूरु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् ।

कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस सङ्क्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् । सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय रहेको जनाइएको छ । सञ्चालन गर्न थालिएका विद्यालयमा विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पालनामा भने अत्यन्त कडाइ गरिएको छ । त्यसैगरी मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

केन्द्रीय शिक्षा मन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताए । कोरोनाभाइरसको महामारीका बारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको पनि उनले जानकारी दिएका छन। पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख १२ हजार २६३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ७४७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको पनि राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा थप पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै कूल मृतकको सङ्ख्या छ हजार ४७९ जना पुगेको छ ।(रासस/पीटीआई)