९३४ कोरोना सङ्क्रमित थपिए, १ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ साउन । पछिल्लो २४ घण्टामा देशभर ९३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार ८६२ जनाको पीसीआर र २ हजार ४८९ जनाको एन्टिजेन गरी ५ हजार ३५१ जनामा गरिएको परीक्षणमा ९३४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

परीक्षण गरिएकामध्ये पीसीआर परीक्षणबाट ४९८ जना र एन्टिजेन परीक्षणबाट ४३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो आँकडासँगै देशभर कोरोनाका सक्रिय सङ्क्रमित ५ हजार ६८६ पुगेका छन् । यसैगरी यो अवधिमा ४७० सङ्क्रमित निको भएर घर फर्केका छन् भने एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । केही समययता कोरोना सङ्क्रित बढ्दै गएकाले सरकारले सजग रहन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै आएको छ ।