
काबुल, २७ साउन । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् । महिलाप्रतिको तालिबानको कठोर निर्णयले विशेषगरी किशोरीहरू विद्यालय शिक्षाबाट बञ्चित भएका छन् ।
सत्तारूढ तालिबानले उनीहरूलाई विद्यालयमा फर्कन अनुमति दिने कुनै सङ्केत नदेखाएकाले केही समाजसेवीले किशोरी पुस्ताको शिक्षालाई निरन्तरता दिने उपाय खोजिरहेका छन् । काबुलको एउटा घरमा सोदाबा नाजहन्दले भूमिकगतरूपमा स्थापना गरेको अनौपचारिक विद्यालयमा पढ्न दर्जनौँ केटी भेला भएका छन् । सोदाबा र उनकी बहिनी माध्यमिक विद्यालयका ती केटीलाई अङ्ग्रेजी, विज्ञान र गणित पढाउँछिन् ।
महिलाहरूको शिक्षा र काम गर्न पाउने अधिकार खोस्ने तालिबानलाई गतिलो जवाफ दिन सोदाबाले केटीहरूलाई पढाएर त्यो कठोर निर्णयविरुद्ध आफू खडा भएको बताइन् । छ कक्षासम्मका किशोरीलाई विद्यालय जानबाट तालिबानले प्रतिबन्ध लगाएपछि भूमिगतरूपमा उनले अनौपचारिक विद्यालय सञ्चालन गरेकी हुन् ।
तालिबानले महिलाहरूलाई विश्वविद्यालय जान अनुमति दिए पनि उच्च माध्यमिक विद्यालयबाट उत्तीर्ण भएका किशोरी नहुँदा त्यो अनुमति अप्रासङ्गिक भएको उनको ठम्म्याइ छ । विश्वविद्यालय र माध्यमिक विद्यालयबीचको विशाल रिक्ततालाई सम्बोधन गर्ने कुनै उपाय नहुँदा उनी ज्यादै दुःखी र चिन्तित छन् ।
सहायता निकाय सेभ द चिल्ड्रेनले शिक्षामा लगाइएको प्रतिबन्धको प्रभाव मूल्याङ्कन गर्न देशका सात प्रान्तमा नौ देखि १७ वर्ष उमेर समूहका करिब एक हजार सात सय केटाकेटीसँग अन्तर्वार्ता लिएको थियो । सेभ द चिल्ड्रेनले दुई महिना लगाएर गरेको सर्वेक्षणमा किशोरहरूको तुलनामा धेरै किशोरीहरू विद्यालय जान नपाएको देखाइएको छ ।
गत बुधबार सार्वजनिक गरिएको सर्वेक्षणअनुसार २० प्रतिशत किशोरहरूको तुलनामा ४५ प्रतिशतभन्दा बढी किशोरीहरू विद्यालय नगएको पाइएको छ । सोह्र प्रतिशत केटाहरूको तुलनामा २६ प्रतिशत केटीहरूमा ‘डिप्रेसन’का लक्षण देखिएको छ । पहिलेदेखि नै चरम गरिबीको दुष्चक्रमा फसेका अफगानिस्तानका जनता अतिवादी समूह तालिबानले सत्ता कब्जा गरेपछि विश्व समुदायबाट पाउने वित्तीय सहायताबाट पनि बञ्चित भए ।
कमजोर आर्थिक अवस्था भएका लाखौँलाई भोकभोकै बस्न बाध्य बनायो । शिक्षक, अभिभावक र विज्ञहरू सबैले देशको बिग्रँदो अर्थतन्त्रप्रति गहिरो चिन्ता व्यक्त गर्दै आफ्ना छोरीहरूको पढाइ रोकिएकामा रोष प्रकट गरेका छन् । तालिबानको अव्यावहारिक निर्णयले अन्ततोगत्वा छोरीहरूको भविष्य अन्धकारतर्फ धकेलेको छ ।
महिलामाथि काममा लगाइएको प्रतिबन्ध, पोशाकको नियमले छोरीचेली नराम्ररी प्रताडित भएका छन् । आँखाबाहेक शरीर पूरै ढाक्ुनपर्ने आदेश पालना गर्न विवश छन् उनीहरू । यद्यपि त्यो आदेशको पनि कहिलेकाहीँ उल्लङ्घन भएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




