टानमा त्रिपक्षीय प्रतिस्पर्धाः बास्तोला, सापकोटा र भण्डारी प्यानलसहित चुनावी मैदानमा

-



     सफल आवाज    
     श्रावण २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ साउन । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को निर्वाचनमा तीन व्यवसायीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

यही साउन ३० गते नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायीहरु नीलहरि बास्तोला, कमल सापकोटा र बोधराज भण्डारीले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन् ।

अध्यक्षका प्रत्याशीमध्ये बास्तोला र सापकोटाले व्यवसायीसँग छलफल र चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन गराएका भण्डारी पनि चुनावी एजेन्डासहित व्यवसायीमाझ पुगिरहेका पुगिरहेका छन् । तीनैजना उम्मेदवारले टानलाई व्यवसायमैत्री संस्थाका रुपमा स्थापित गराउने बताएका छन् ।

अध्यक्षका प्रत्याशी बास्तोलाले व्यवसायीले खोजेजस्तो टान बनाउने जानकारी दिए । आफ्नै समूहको उम्मेदवार परिचयात्मक कार्यक्रममा उनले टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा यसलाई वास्तविक व्यवसायीको संस्थाका रुपमा स्थापित गर्न पहल गर्ने प्रतिबद्धता जनाए। बास्तोलाले आफू नेतृत्वमा पुगेको खण्डमा पर्वतीय पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने बताए।

दुई वर्षको कार्यकालमा टानको कार्यसमितिमा बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई टेकिङ व्यवसायीहरुको हितमा लगाउन चाहेको उनको भनाइ थियो । बास्तोलाले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्था अन्त्य गर्दै टानले नै व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने र व्यवसायीहरुको सहजीकरणका लागि कर्मचारी सहितको सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिने योजना रहेको जानकारी दिए ।

अध्यक्षका अर्का प्रत्याशी सापकोटाले टानलाई सुदृढ तुल्याउँदै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डसँगको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्ने योजना रहेको बताए। उनले बोर्डलगायत तीनवटै तहका सरकारसँग सहकार्य गरेर पर्वतीय पर्यटनको विकासमा जुट्ने बताए। सापकोटाले एजेन्सीमार्फत पदयात्रामा जानुपर्ने अनिवार्य व्यवस्था मिलाउनाका साथै क्षतिग्रस्त पदयात्रा पुनःनिर्माण तथा नयाँ पदमार्गको पहिचान र प्रवद्र्धनमा जुट्ने विश्वास व्यक्त गरे।

स्वतन्त्र समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका भण्डारीले सामाजिक सञ्जालमार्फत १५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेर चुनावी माहोल आफ्नो पक्षमा बनाउन लागिपरेका छन् । उनले टानलाई राजनीतिकरणबाट मुक्त बनाएर पूर्ण व्यावसायिक बनाउने तथा टान सचिवालयलाई व्यवस्थित बनाएर सदस्य व्यवसायीको हित अनुकूल काम गर्ने योजना सुनाए।

यही साउन ३० गते हुने टानको निर्वाचनमा अध्यक्षसहित कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । एक हजार आठ सय व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार दुई सय ५० मतदाता रहेका टानले जनाएकाे छ।