नेपालमा २४४० जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

-



     सफल आवाज    
     असाेज १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ असोज । नेपालमा गएको २४ घण्टामा २ हजार ४ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर योसहित कुल सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको जनाए ।

सो अवधिमा १३ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १५३१ जना छन् । जसमा काठमाडौ जिल्लामा १ हजार १ सय ७८, भक्तपुरमा १ सय ३, ललितपुरमा २ सय ५० जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या ६५ हजार २ सय २ पुगेको छ । निको हुने ७३ प्रतिशत रहेको छ ।

हाल ११ हजार १ सय ९१ जना संस्थागत आइसोलेसनमा,१२ हजार ३ सय १६ जना होम आइसोलेसनमा बसेका छन् । हाल भेन्टिलेटरमा ४३ जना छन् ।

पाँच सय बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सिराहा, सुनसरी, ललितपुर, काठमाडौं, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् । यस्तै शून्य संक्रमित रहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा र रुकुम पूर्व रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ५ सय ५४ पुगेको छ ।