पछिल्लो २४ घण्टामा १४२ कोरोना सङ्क्रमित थपिए

-



     सफल आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, १९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ४५० जनाको नमूना परीक्षण गरिएकोमा १ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१ हजा ७५६ जनाको पीसीआर गर्दा १ सय १६ जनामा तथा १ हजार ६९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा २ सय ३० जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित २ हजार ५२८ मा झरेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७८ हजार ९०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।