प्रवासी नेपालीद्वारा डा. केसीको जीवनरक्षा र माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

-



     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ असोज । प्रवासमा रहेका नेपालीले डा.गोविन्द केसीको जीवन रक्षा र वार्ताबाट तुरुन्त समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अपिलसहितको एक ज्ञापन पत्र पठाएका छन् ।

चिकित्सा क्षेत्रमा सुधार र सुशासनका लागि पटक पटक सत्याग्रह गर्दै आएका डा.केसीसंग सरकारले तुरुन्त वार्ता शुरु गरी उनका जायज मागलाई पूरा गर्न माग गरिएको छ । चिकित्सा क्षेत्रमा रहेको बेथिति र मेडिकल माफिया बिरुद्ध जनताको भलाईको लागि पटक पटक अनशन बस्दै आएका डा.केसीसंग भएका सहमति कार्यान्वयन नहुँदाको परिणाम आफ्नो अमूल्य जीवन समर्पित गरी सत्याग्रह गर्न बाध्य भएका उनीसंग सरकारले गरेको अभद्र ब्यबहार निन्दनीय भएको जनाईएको छ ।

विश्व अहिले कोभिड १९ को महामारीको संकटमा फसिरहेको छ । सरकार जनताको स्वास्थ्यप्रति गम्भिर नभई स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार, कमिसन र आन्तरिक रमितामा रमाएको ज्ञापन पत्रमा उल्लेख छ । प्रवासमा बसेका नेपालीले सरकार भएको अनुभूति गर्न नपाएको उनीहरुले बताएका छन् । यो अवस्थामा डा.केसीको सत्याग्रह असान्दर्भिक भनेर हल्का टिप्पणी गर्नु आपत्तिजनक भएको ज्ञापन पत्रमा लेखिएकाे छ ।

नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागसहित नेपाली जनसम्पर्क समिति अन्तर्गत रहेका खाडी मुलुकको तर्फबाट उनीहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई अपिल गरेका हुन ।