धौलागिरि अस्पतालमा दुरविनमार्फत सफल शल्यक्रिया

-



     सफल आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित



बागलुङ, २१ भदौ । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरविन यन्त्रमार्फत ‘एपेन्डिसाइटिस’को सफल शल्यक्रिया गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–७ की २१ वर्षीया प्रतिसा बोलनको पहिलो पटक दुरविन यन्त्रमार्फत शल्यक्रिया भएको हो ।

डाक्टर साजन कुँवर, सुवास खरेल, एनेस्थेसियोलोजिष्ट डाक्टर गणेश वन, नर्सिङ कर्मचारी गीता पुन र करिस्मा केसी लगायतको टिमले सफल उनको शल्यक्रिया गरेको धौलागिरि अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

अस्पतालमा यसभन्दा अगाडिसम्म ‘ओपन सर्जरी’हुँदै आएकामा अबदेखि दुरविन यन्त्रमार्फत शल्यक्रिया हुने डाक्टर पोखरेलले बताए । गण्डकी प्रदेशभित्रका अस्पतालमध्ये सबैभन्दा पहिले धौलागिरि अस्पतालमा यो यन्त्रमार्फत शल्यक्रिया सुरु भएको डाक्टर विकले जानकारी दिए ।

यो यन्त्रमार्फत हर्निया, एपेन्डिसाइटिस र पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्न सकिने डाक्टर कुँवरले जानकारी दिए ।  ‘दुरविन यन्त्रमार्फत शल्यक्रिया गर्दा अस्पतालमा बसाइ छोटिन्छ, बिरामी घर छिटो फर्किन सक्छन्, त्यसले गर्दा अस्पतालमा बिरामीको चाप पनि बढ्दैन, ओपन सर्जरी जस्तो, ठूलो घाउ बनाउनु पर्दैन, यो आधुनिक प्रविधियुक्त विधि हो’, डाक्टर कुँवरले भने ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पोखरेलले अब हर्निया, एपेन्डिसाइटिस र पित्त थैलीको पत्थरी शल्यक्रिया गर्नु पर्ने बिरामी पोखरा, काठमाडौँ जान नपर्ने बताए ।