श्रृजनशील लघुवित्तको आईपीओ सोमबार बाँडफाँट हुँदै

-



     सफल आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि भदौ २७ गते सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीले गत भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्कासन गरेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालय कमलपोखरीमा सोमबार बिहान ९ बजे बाँडफाँट हुने कम्पनीले जनाएको छ ।

गत भदौ २३ गते नै प्रि-अलमेन्ट सम्पन्न गरेर सोमबार सेयर बाँडफाँट गर्ने निर्णय गरिएको कम्पनीको भनाइ छ । लघुवित्तले गत भदौ १५ गते देखि १९ गतेसम्म म्याद राखेर आफ्नो जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर जारी गरेको हो ।

यसरी जारी सेयरको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४७० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यसपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ ।

सेयरका लागि मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले वितरण कमेपनीले जनाएको छ । यस हिसाबले हेर्दा ३६ हजार ८५९ जनाले मात्रै सेयर पाउने र बाँकीको हात खाली रहने भएको छ ।

यस लघुवित्तको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड ९३ लाख ७५ हजार र चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने बताइएको छ।