वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाए

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ भदौ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर बढाएका छन् । वाणिज्य बैंकहरुले आज बढेको ब्याजदरसहितको नयाँ सूचना प्रकाशित गरेका छन् । प्रकाशित सूचना अनुसार पछिल्लो ६ महिनादेखि स्थिर ब्याजदरमा काम गरिरहेका वाणिज्य बैंकहरुले असोज महिनाका लागि भने ब्याजदर बढाउने निर्णय गरेका हुन् ।

यसरी बढेको ब्याजदर अनुसार वाणिज्य बैंकहरुको अधिकतम दर १२.१३ प्रतिशत पुगेको छ । यो निर्णयसँगै अब ती बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशतसम्मको दरले ब्याज दिने बुझिएको छ । यस हिसाबले हेर्दा संस्थागत मुद्दति निक्षेपमा बैंकहरुले अब १०.१३ प्रतिशतसम्म ब्याज दिन पाउने भएका छन् ।

राष्ट्र बैंकले अघिल्लो महिनाको औसत ब्याजदरको १० प्रतिशत मात्रै बढाउन पाउने व्यवस्था गरेकोले असोजका लागि बैंकहरुले अधिकतम १२.१३ प्रतिशत ब्याजदर कायम गरेका बुझिएको छ ।

नेपाल बैंकर्स संघले विगत ६ महिनादेखि निक्षेपमा ब्याजदर नबढाउने भद्र सहमतिमा रहँदै आएकाले ब्याजदर नबढाइएकोमा हाल उक्त समहति संघले खारेज गरेको छ । यो खारेजीसँगै वाणिज्य बैंकहरुले ब्याजदर बढाउन पाएका हुन् । भदौ ३० गते बिहीबार बसेको संघको कार्यसमिति बैठकले ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकले केही समयअघि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत बैंकहरूलाई ब्याजदर बढाउन प्रोत्साहन गरेको भए पनि गत साउनमा बैंकर्स संघले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको थियो । ब्याजदरमा वृद्धि हुनासाथ बैंकमा निक्षेप नबढ्ने कारण देखाउँदै भदाै महिनामा ब्याजदर नबढाउने निर्णय गरिएको संघले जनाएको थियो । गत फागुन २०७८ देखि यता बैंकहरु व्यक्तिगत मुद्दति निक्षेपमा ११.०३ प्रतिशत विन्दुमा तटस्थ रहँदै आए पनि असोजका लागि भने ब्याजदर बढाइएको हो ।