‘जलवायु सङ्कटकाल’ घोषणाको तयारीमा वन मन्त्रालय

-



     सफल आवाज    
     असाेज २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ असोज । वन मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने तयारी गरेको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाएको हो ।

संयुक्त राष्ट्रसङ्घले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय सङ्कट सुरु भएको भनेकाले नेपाल जस्तो उच्च जोखिमयुक्त मुलुक पनि यस विषयमा गम्भीर हुन जरुरी रहेको निष्कर्षमा वन तथा वातावरण मन्त्रालय पुगेको बताइएको छ ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्नका लागि योजना बनाउने जानकारी यसअघि नै दिइसकेका छन् । त्यसकै आधारमा मन्त्रालयले यसको अध्ययन तथा सम्बन्धित विज्ञसँग राय सुझाव लिन सुरु गरेको छ ।

मन्त्रालयको जलवायु महाशाखा प्रमुख बुद्धिसागर पौडेलले सङ्कटकाल घोषणाको अध्ययन र प्राविधिक तयारी भइरहेको जानकारी दिए । सङ्कटकाल लगाएपछि फाइदा वा घाटा के हुन्छ, कुनै क्षेत्र विशेषमा असर पर्छ कि भन्ने विषयमा अध्ययन गर्ने भनेर तथ्य–तथ्याङ्क जुटाउने र विश्लेषण गर्ने काम सुरु गरिएको उनको उनको भनाइ छ ।

‘जलवायु सङ्कटकाल’ घोषणा गरेपछिको अवस्थाका बारेमा अध्ययन गरी जानकारी लिनका लागि मन्त्रालयले एउटा प्राविधिक टोली पनि तयार गरिरहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको भनेर निरन्तर सचेत गराइरहेका छन् ।

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमका विषयमा तथ्याङ्क राख्ने अन्तर्राष्ट्रिय संस्था ‘जर्मनवाच’ का अनुसार नेपाल अहिले जलवायु परिवर्तनका कारण उच्च जोखिम भएका देशमध्ये दशौँ स्थानमा पर्छ । सङ्कटकाल नै घोषणा गर्न भने हतार गर्न नहुने अधिकांशको भनाइ छ ।

तथ्यमा आधारित प्रमाणसहित ‘जलवायु सङ्कटकाल’ घोषणा गर्न आवश्यक रहेको विज्ञ तथा मन्त्रालयका कर्मचारीको भनाइ छ । नेपाल सरकारसँग अहिलेसम्म जलवायु परिवर्तनकै कारण कति हानी नोक्सानी भयो भन्ने यकिन तथ्याङ्क छैन । सङ्कटकाल घोषणापछि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने योजना बनाउनुपर्ने आवश्यकता रहेको यस क्षेत्रका विज्ञहरुको भनाइ छ ।

मुलुकले लामो समयदेखि पर्यावरणीय र जलवायुजन्य समस्या भोग्दै आए पनि सरकारले कोप–२७ को तयारीका क्रममा सङ्कटकाल घोषणाका विषयमा सरोकारवाला निकाय र विज्ञसँग छलफल गरिरहेको छ ।

हिमाल, कृषि, पानीका स्रोतलगायत सबै क्षेत्रमा देखिने गरी जलवायु परिवर्तनको असर परिरहेकाले नेपालमा जलवायु सङ्कटकालको घोषणा गरी विश्वको ध्यानाकर्षण गर्नुपर्ने बेला भएको वन तथा वातावरणमन्त्री प्रदीप यादव नेपालको दावी छ ।

हालसम्म विश्वका ३९ देशले जलवायु सङ्कट घोषणा गरेका छन् । जलवायु परिवर्तनको असरले नेपालमा प्राकृतिक विपद्का घटना बर्सेनि दोहोरिइरहने गरेको छ । यसबाहेक हरेक वर्ष खडेरी तथा अतिवृष्टि पनि हुँदै आएको छ । यसले बाढी, पहिरो आउने र ठूलो मात्रामा धनजनको क्षति गराउँदै आएको छ । केही वर्षयता हिमालमा हिउँ पग्लिने र मधेस तथा पहाडमा खानेपानी र सिँचाइकै समस्या हुने खालका समस्या पनि बढ्दै गएका छन् ।