टुकुचा खोतल्ने महानगरको अभियानमा पुरातत्वको ध्यानाकर्षण

-



     सफल आवाज    
     असाेज ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ असोज । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोतल्न थालेकोप्रति पुरातत्व विभागको ध्यानाकर्षण भएको छ । महानगरले राजदरबारबाट निस्केपछि हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोज्न अभियान चलाएपछि विभागको ध्यान तानिएको हो ।

विभागले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म परम्परागत प्रविधिबाट भूमिगत गरिएको टुकुचा पुरातात्विक पूर्वाधार भएको भन्दै महानगरले खोतल्न थालेपछि त्यसबारे अध्ययन गर्ने भएको हो ।

विभागले टुकुचामा महानगरले उत्खनन गरिरहेको पूर्वाधारबारे अध्ययन गर्न एक टोली खटाएको छ । उक्त टोलीले अध्ययन गरेर टुकुचा भूमिगत गरिएको क्षेत्रको पूर्वाधारबारे प्रतिवेदन बुझाउने विभागको भनाइ छ ।

करिब १३० वर्षभन्दा अगाडि नै राणा प्रधानमन्त्री वीरशम्शेरले भूमिगत गरेको अनुमान गरिएको टुकुचा खोला पुरातात्विक महत्वको हुनसक्ने विभागको अनुमान छ ।

खोला भूमिगत गर्न बनाइएको गुम्बज शैलीको ‘ढल प्रणाली’मा आधारित इँटाबाट निर्मित पूर्वाधारको ऐतिहासिकताबारे अध्ययन विभागको टोलीले अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ ।

सय वर्षभन्दा पुराना सम्पदालाई विभागले पुरतात्विक वस्तु र सम्पदाका रुपमा सूचीकृत गर्छ । यस्ता प्राचीन सम्पदालाई स्मारक संरक्षण ऐनअनुसार संरक्षण गर्नुपर्ने विभागको दायित्वमा पर्दछ । यस हिसाबले पनि विभाग टुकुचाको पूर्वाधार अध्ययनका लागि जुटेको  बुझिएको छ ।