राष्ट्रपतिको कदम असंवैधानिक: सत्तारुढ चार दल

-



     सफल आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ असोज । सत्ता गठबन्धनमा रहेका चार राजनीतिक दलले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले संविधानको पालना गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको निष्कर्ष निकालेको  छ ।

विज्ञप्तिमा राष्ट्रपतिको यो गैर संवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको उल्लेख गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । सत्तारुढ गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाकाे संयुक्त विज्ञप्तिमा हस्ताक्षर छैन ।

राष्ट्रपति भण्डारीले गत साउन ३० मा आएको विधेयकलाई सङ्घीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । त्यसलगत्तै भदौ २ गते प्रतिनिधिसभाले राष्ट्रपतिबाट आएको विधेयकलाई हुबहु पारित गरेको थियो ।

भदौ १२ गते राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र राष्ट्रियसभाको बैठकमा टेबल गरिएको थियो । त्यसको २ हप्तापछि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगर्ने खतरा रहेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने बताएका थिए ।

अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गत भदौ ३० गते राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट पनि दायर गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो पटक भदौ २० गते विधेयक प्रमाणित गरी राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि मंगलबार राति १२ बजे समाप्त भएको हो । 

समयसीमा समाप्त हुन्जेल पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि बुधबार सत्तारुढ चार दलको बैठक बसेको थियो । बैठकले राष्ट्रपतिको कदमले नेपाली नागरिक आमाबाबुका सन्तानले नागरिकता पाउने संवैधानिक हकबाट वञ्चित भएको निष्कर्ष निकालेको छ । साथै संविधानसभाले बनाएको संविधानको आधारभूत मूल्य मान्यतामा गम्भीर  प्रहार भएको बैठकको ठहर छ ।

यसबाहेक बैठकमा रहेका चार दलले राष्ट्रपतिको कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाको पक्षधर राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदायलाई आह्वानसमेत गरेको छ ।