काेराेना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन थपिए ५ हजार ८ सय

-



     सफल आवाज    
     असाेज २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ असोज । नेपालमा एकै दिन ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिनमा सबैभन्दा बढी संक्रमित हुने यो अहिलेसम्मकै उच्च संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरमा थप ५ हजार ८ जना थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुुसार शनिबार देशभरमा सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ। संस्थागत आइसोलेसनमा १३ हजार ६४५ जना रहेका छन् ।

गएको २४ घण्टामा देशभर १९ हजार ३ सय २० पीसीआर परीक्षण गरिएको थियो।

यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २९ जना निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ। निको हुने कूल संक्रमित ७० दशमलब २ प्रतिशत हुन आउँछ ।

यस्तै कुल संक्रमितमध्ये हालसम्म ६ सय १४ जनाको मृत्यु भैसकेको छ ।