
काठमाडौं, ७ असोज । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरुद्ध सर्वोच्च अदालता दायर रिटमा आज सुनुवाइ हुने भएको छ । विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा पाँच अलग अलग रिट दायर गरिएका थिए । तिनै रिटहरुमाथि आज सुनुवाई हुने भएको हो ।
रिट दायर गर्नेहरुमा अधिवक्ता सुनिलकुमार यादव, अधिवक्ता सुनिल रञ्जन सिंह, अधिवक्ता सागर बराल, विजय पोखरेल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी सौगातराज बराल, काठमाण्डौ स्कुल अफ लमा अध्ययनरत अविनेश अधिकारी र सम्पूर्ण बस्नेत तथा मोरङको रङ्गेली नगरपालिकाका देव शर्मा रहेका छन् । उनीहरुले रिटमा नागरिकता विधेयक प्रमाणीकरणको लागि परमादेशको माग गरेका छन् ।
सङ्घीय संसद्का दुवै सदनले दोस्रो पटक पारित गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संविधानको व्यवस्था रहेको र राष्ट्रपतिले त्यसको विपरीत विधेयक प्रमाणीकरण नगरी संविधान मिच्ने काम गरेको रिटमा उल्लेख गरिएको छ ।
राष्ट्रपति भण्डारीले गत साउन ३० मा आएको विधेयकलाई सङ्घीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । त्यसलगत्तै भदौ २ गते प्रतिनिधिसभाले राष्ट्रपतिबाट आएको विधेयकलाई हुबहु पारित गरेको थियो ।
भदौ १२ गते राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र राष्ट्रियसभाको बैठकमा टेबल गरिएको थियो । त्यसको २ हप्तापछि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगर्ने खतरा रहेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने बताएका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो पटक भदौ २० गते विधेयक प्रमाणित गरी राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि गत असोज ४ गते मंगलबार राति १२ बजे समाप्त भएको थियो ।
समयसीमा समाप्त हुन्जेल पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि बुधबार बसेको सत्तारुढ चार दलको बैठकले राष्ट्रपतिको कदमले नेपाली नागरिक आमाबाबुका सन्तानले नागरिकता पाउने संवैधानिक हकबाट वञ्चित भएको निष्कर्ष निकालेको थियो ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



