फिलिपिन्समा हिंस्रक आँधीको चेतावनी

-



     सफल आवाज    
     असाेज ९ गते २०७९ मा प्रकाशित



मनिला, ९ असोज । फिलिपिन्सको मुख्य टापु लुजोनमा आइतबार आएको शक्तिशाली आँधी (सुपर टाइफून) का कारण तटीय शहरहरू खाली गर्न सूचना गरिएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार नोरु नाम दिइएको उक्त आँधी प्रति घण्टा १९५ किलोमिटरको अधिकतम निरन्तर हावाको गतिसहित जमिनमा अवतरण हुँदा हिंस्रक नतिजा निम्त्याउन सक्ने राज्यको मौसम पूर्वानुमान विज्ञले जनाएका छन् ।

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधी राजधानी मनिलाबाट करिब ८० किलोमिटर उत्तरपूर्वमा स्थानीय समयअनुसार अपराह्न वा साँझमा आइपुग्ने भएको र अवतरणपछि आँधी अझै सशक्त हुँदै जाने अनुमान गरिएको छ ।

फिलिपिन्सका राष्ट्रिय प्रहरी प्रमुख जनरल रोडोल्फो अजुरिनले भने, ‘हामी खतरा क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक परेको बेला सुरक्षित स्थानमा स्थानान्तरणका लागि गरिएको आह्वानको पालना गर्न आग्रह गर्दछौं ।’

फिलिपिन्स नियमित रूपमा आँधीबेहरीको चपेटामा पर्दै आएको छ र वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण संसार तात्दै जाँदा तिनीहरू अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन् ।

मौसम पूर्वानुमानकर्ता रोब गिलेले नोरुको तीव्र गति जमिननजिक पुगेको र यो ‘अहिलेसम्मका केही अत्यधिक हिंस्रक’ आँधीमध्येको एक हुनसक्ने बताएका छन् । आँधीको रफ्तार पछिल्लो २४ घण्टामा ९० किलोमिटर प्रतिघण्टाको दरले वृद्धि भएको एजेन्सीले जनाएको छ ।

प्रान्तीय प्रकोप कार्यालयका मेल एभेनिलाका अनुसार क्वेजोन प्रान्तका धेरै पालिकाका बासिन्दालाई घरबाट सुरक्षित स्थलमा सारिएको छ । छिमेकी प्रान्त अरोरामा डिङ्गलन नगरपालिकाका बासिन्दाहरू पहाडी क्षेत्रमा शरण लिन बाध्य भएका छन् ।

‘तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ । हामी तटबाट टाढा बस्छौं त्यसैले हामी अहिलेसम्म बसिरहेका छौं । हामी पहाडमा हुने वर्षा र पहिरोको बारेमा बढी चिन्तित छौं’, डिंगलनमा रेस्टुरेन्ट व्यवस्थापकसमेत रहेका  ५४ वर्षीया स्थानीय रिया टानले भनिन् ।