
काठमाडौं, ११ असोज । नेपाल प्रहरीले नाबालिगमाथि बलात्कार आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्ने प्रयास जारी राखेको छ । यसका लागि उनीविरुद्ध हालै इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गरिएको छ ।
उनी क्यारेबियन प्रिमियर लिग खेल्न जमैकामा रहेका बेला गत भदौ २१ गते उनीमाथि एक किशोरीले बलात्कार आरोपमा प्रहरी वृत्त गौशालमा उजुरी गरेकी थिइन् । त्यसपछि लामिछानेले आफूमाथिको आरोप झूटो रहेको र नेपाल आएर त्यसविरुद्ध लड्ने भन्दै क्यानलाई वकिल मिलाइदिन आग्रह गरेका थिए । तर उनी हालसम्म पनि नेपाल फर्केका छैनन् ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईले सफलआवाजलाई बताए अनुसार आरोपित लामिछाने कुन देशमा छन् भन्ने यकिन नभएकाले उनीविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी गरिएको हो । यो सूचना जारी भएपछि आरोपित १९५ औटा इन्टरपोल सदस्य राष्ट्रमा जहाँ भए पनि पत्ता लाग्ने उनको भनाइ छ ।
नेपाल प्रहरीले इन्टरपोलको सदस्य राष्ट्रको (एनसीबी) अर्थात् नेशनल सेन्ट्रल ब्यूरोका हैसियतले इन्टरपोल सदस्य राष्ट्रहरुलाई आरोपितलाई पक्रन सहयोगको आग्रह गर्दै डिफ्युजन नोटिस जारी गरेको हो । डिफ्युजन नोटिस इन्टरपोलले जारी गर्ने अन्य रेड यल्लो, ब्लू, ब्ल्याक, ग्रीन, अरेन्ज तथा पर्पल नोटिसहरुभन्दा कम औपचारिक हुन्छ ।
के हो डिफ्युजन नोटिस ?
‘सामान्यतया: हामीले रेड कर्नर नोटिसका बारेमा सुनिरहेको भए पनि रेड कर्नर नोटिस इन्टरपोलको सचिवालयले जारी गर्दछ भने डिफ्युजन नोटिस इन्टरपोल सदस्य रहेका देशका राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी)ले सदस्य राष्ट्रमध्ये केही वा सबैलाई आग्रह गर्दै जारी गर्न सक्छ’, प्रवक्ता राई बताउँछन् । डिफ्युजन नोटिस अन्य नोटिसभन्दा कम औपचारिक भए पनि आरोपित खोज्न र सम्बन्धित देशमा ल्याउनका लागि भने उत्तिकै प्रभावकारी भएको उनको भनाइ छ ।
प्रवक्ता राई भन्छन्, ‘हामीले इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रलाई सहयोग र सहकार्यका लागि डिफ्युजन नोटिस जारी गरेका हौं । यही नोटिसका आधारमा हामी आरोपितलाई खोजेर ल्याउँछौं ।’ सम्बन्धित देशकै एनसीबीले जारी गर्ने भए पनि इन्टरपोल सदस्य भएका नाताले डिफ्युजन नोटिशलाई पनि इन्टरपोलले जारी गरेको भन्न मिल्ने प्रवक्ता राईको भनाइ छ ।

बलात्कार आरोप लागेपछि लामिछानेलाई जमैकाले तत्काल देश छाड्न आदेश दिएको थियो । त्यसपछि नेपाल आउन सिंगापुरबाट टिकट काटेको र पछि टिकट रद्द गरेको बताइएको थियो । त्यसयता सन्दीप नेपाल प्रहरी वा क्यान कसैको सम्पर्कमा थिएनन् । धेरैले उनी विदेशमै पलायन हुनसक्ने आशंका गरेका थिए ।
आइतबार मात्रै उनले सामाजिक सञ्जालमा अकस्मात् आफूमाथि लागेको सम्वेदनशील आरोपका कारण मानसिक रुपमा विक्षिप्त भएको र स्वास्थ्य पनि बिग्रिएकाले केही दिन आइसोलेसनमा रहेको पोस्ट गरेका थिए । आफू छिट्टै ठिक भएर नेपाल फर्कने र अनुसन्धानमा सघाउने पनि उनले लेखेका थिए । उनी कुन देशमा कुन अवस्थामा छन् भन्ने यकिन भएको छैन ।
भावुक स्टाटसले प्रहरीलाई कुनै फरक नपार्ने र बलात्कार जस्तो जघन्य अपराधको आरोप लागिसकेको व्यक्ति जोसुकै भए पनि खोजेर ल्याई सत्यतथ्य पत्ता लगाउनु प्रहरीको दायित्व रहेकाले कुनै पनि हालतमा उनलाई खोजेर ल्याउन नेपाल प्रहरी प्रयासरत रहेको प्रवक्ता राई बताउँछन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




