महानगरको अनुगमनमा भेटियो उत्पादन मिति नभएका खाद्य पदार्थ

-



     सफल आवाज    
     असाेज ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ असोज । काठमाडौं महानगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन शुरु गरेको छ ।  अनुगमन टोलीले सरकारी कार्यालयको गोदाममै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ ।

टोलीमा संलग्न एक अधिकारीका अनुसार अरुवा मकवानपुरे चामलमा म्याद सकिने मिति २ वर्ष लेखिएको तर उत्पादन मिति नलेखिएको पाइएको हो । यसबाहेक अन्य सामानमा ब्याज नम्बर नबुझिने गरी लत्पतिएको र स्टोरमा रहेका अधिकांश सामानको म्याद सकिनै लागेको पाइएको छ ।

यस्तो सामग्री भेटिए पनि आफूहरुले मिति सकिएका खाद्य सामग्री जानी जानी हालसम्म नबेचेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेशको भनाइ छ । कतिपय सामान गोदाममा राख्दा मिति नभएको हुनसक्ने भएकाले सच्याइने विभागको प्रतिबद्धता छ ।

हाल तीनओटा टोलीले बजार अनुगमन गरिरहेको महानगरले जनाएको छ । आज टोलीले टुकुचा खोलाको खसी बजारसहित विभिन्न क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा बजारमा अखाद्य वस्तु बेच्ने गरेको तथा महानगरमा व्यवसाय नै दर्ता नगरेको पाइएको छ ।

चाडपर्व लक्षित गरी गरिएको यो अनुगमन अब नियमित रुपमा हुने महानगरकी उपप्रमुख सुनिता डंगोलले बताइन् । पहिलोपटक भएका कारण महानगरले आज कसैलाई कारबाही गरेको छैन । फेरि पनि यस्तो भेटिएमा कानूनी बमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

महानगरका अनुसार आज होटल, खाद्य सामग्री, नियमित प्रयोग हुने तरकारी, गोदाम, व्यवसाय दर्ता, नवीकरण, उपभोग्य मिति, प्याकेजिङ जस्ता कुरालाई विशेष ध्यानमा राखेर अनुगमन गरिएको हो ।