राजधानीमा टीका थाप्न हिड्नेको चहलपहल बढ्याे

-



     सफल आवाज    
     असाेज १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ असोज । माता दुर्गा भवानीको ९ दिनसम्म पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आज राजधानीमा चहलपहल देखिएको छ ।

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो । निधारमा रातो टीका र कानमा जमरा लगाएका मानिस अन्यत्र टीका एवं आशीर्वाद थाप्न हिँड्न थालेका छन् ।

दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नगरेसम्म जारी रहन्छ । राजधानीमा मानिसको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन् । थोरै मात्रामा चलेका सार्वजनिक सवारीमा कोचाकोच भएर यात्रा गर्न यात्रु बाध्य छन् ।

यस वर्षको दसैँमा झरी परेका कारण भने टीका एवं आशीर्वाद थाप्न हिँड्ने मानिस प्रभावित भएका छन् ।