कालीकोटमा बेपत्ता १३ मलामीमा मृतकका बाबु र वडाध्यक्ष पनि

-



     सफल आवाज    
     असाेज २४ गते २०७९ मा प्रकाशित



कालिकोट, २४ असोज । कालिकोटको तिलागुफामा हेमराज शाहीको अन्त्येष्टिमा गएर बेपत्ता रहेका मलामीमा मृतकका बाबु र वडाध्यक्ष समेत रहेको खुलेको छ ।

शनिबार मृत्यु भएका तिलागुफा नगरपालिका–४ का १८ वर्षीय हेमराज शाहीको अन्त्येष्टिका लागि उनका बुबा कालीबहादुर शाहीलगायत ६० भन्दा बढी मलामी गएको बुझिएको छ । स्थानीय राचुलीमा रहेको नदी किनारमा हेमराजबा बुबा कालीबहादुरले शवमा दागबत्ती दिए ।

नगरपालिकाका उपमेयर महेन्द्रबहादुर शाहीलेका अनुसार चिता जल्दै गर्दा माथिबाट पहिरो खसेको पहिरोले मृतकका बुबा कालीबाहादुर तथा वडा नम्बर-४ का अध्यक्ष प्रसिद्ध शाहीसहित १३ जनालाई पहिरोले पुरेको र बाँकी भागेका थिए । पहिरोले पुरेका मध्ये कसैको शव फेला परेको छैन ।

बेपत्ता हुनेमा हेमराजका बुबा कालीबहादुर शाही, वडाध्यक्ष प्रसिद्ध शाही, प्रशान्त शाही, मोतिलाल शाही, नरेश शाही, छत्र शाही, धनबहादुर शाही, अनिल शाही, मानबहादुर शाही र खगेन्द्र शाहीलगायत रहेका छन् ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माका अनुसार शनिबारको घटना भए पनि आफूहरुलाई आज सोमबार बिहान मात्र खबर आएकाले चार घण्टा पैदल हिँडेर प्रहरी टोली आज घटनास्थलमा पठाइएको हो । उनीहरुले बेपत्ता भएकाको खोजी कार्य जारी राखेका छन् । घटनास्थलमा प्रहरीसँगै उपमेयर शाही पनि उपस्थित रहेका छन् ।

उपमेयर शाहीका अनुसार बेपत्ता हुनेहरु नजिकका आफन्त र नातागोताका बढी रहेका छन् । अहिले पनि पहिरो जाने क्रम नरोकिएकाले स्थानीयलाई कालिका माविमा राखिएको छ । बस्ती जोखिममा रहेको र उक्त क्षेत्रमा इन्टरनेट, विद्युत सेवा अवरुद्ध रहेको उपमेयर शाहीको भनाइ छ ।