नेपालीकाे कम्फरटेबल सरकार बनाउँछौ, विदेशीका लागि होईन, सिक्किमिकरण हुनै दिन्नौं : अधिकारी

-



     आरजू विष्ट सल्यानी    
     असाेज २६ गते २०७९ मा प्रकाशित



पोखरा, २६ असोज । नेकपा एमालेका संगठन विभाग प्रमुख, पूर्व मन्त्री तथा कास्की क्षेत्र नं १ क का उम्मेदवार खगराज अधिकारीले नेपाललाई कुनैपनि हालतमा सिक्किमीकरण हुनबाट बचाउन एमाले शासन सत्तामा पुग्न आवश्यक भएको बताएका छन् ।

नेकपा एमालेबाट कास्की तीवटै क्षेत्रका उम्मेदवारहरुको लागि आयोजना गरेको परिचय कार्यक्रमका प्रमुख अतिथि रहेका अधिकारीले भने, एमालेलाई अझैं शक्तिशाली बनाउने भनेको आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नै हो । अधिकारीले नामै नकिटेता पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै केहि महिना पहिले विदेशीका लागि कम्फरटेबल सरकार बनाउँछौ भनेको कुरा स्मरण गरे । उनले भने, अँह हामी त्यसो हुनै दिन्नौं, सिक्किमीकरण पनि हुन दिन्नौं, कुनै विदेशीको लागि कम्फरटेबल हुँदैनौं । बरु नेपाली जनताका लागि भने कम्फरटेबल बनाउँछौं यही हाम्रो लक्ष्य हो ।

एमालेले केन्द्रमा अध्यक्ष केपि शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने लक्ष्य लिएर चुनाबमा होमिएको र गण्डकी तथा सबै प्रदेशमा एमालेकै सरकार बनाउने दृढ संकल्पका साथ अगाडी बढेको बताए । उनले भने सबैभन्दा ठूलो पार्टीलाई आगामी निर्वाचनबाट झन् शक्तिशाली बनाउन आवश्यक भएको बताए ।

हामी सरकारमा गएपछि शिक्षा, स्वास्थ्यलाई निःशुल्क गराउने, रोजगारको सृजना गर्ने, उत्पादनमा जोड दिने, धौबारी फलामखानीलाई नेपालीको लाइफ लाइन बनाउनेगरी प्रयोगमा ल्याउने र नवलरपुरदेखि मुस्ताङसम्मको दुई लेनको बाटो बनाउने बताए । उनले ५ वर्ष भित्रमा पोखरा अन्तराष्ट्रिय स्तरको सभाहल तथा अन्तराष्ट्रिय स्तरको बसपार्क बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेता तथा कार्यकर्तालाई निर्देशन दिदैं अधिकारीले उत्तेजना र आवेगमा नआई संयम भएर निर्वाचनमा होमिन आग्रह गरे । उनले भने, स्थानिय तहको निर्वान जेजस्तो कमजोरी भएपनि सबैलाई बिर्सिएर नयाँ जोशका साथ अघि बढ्नुपर्ने बताए । उनले भने, पार्टीको हित बिपरित कार्य गर्नेलाई ठाउँका ठाउँ कारबाहि गर्ने चेतावनी समेत दिए । अधिकारीले आफुबाट कुनै प्रकारको पक्ष बिपक्षको काम नहुने, हुन पनि नदिने र गरेको बारेमा औंला उठ्यो भने सोहि दिनबाट पार्टीमा नरहने बचनबद्धता व्यक्त गरे ।

एमालेका सल्लाहकार परिषद सदस्य तथा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको आवश्यक्ता एमालेको निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउने र शासन सत्तामा गएर समृद्ध नेपाल सुखि नेपाली बनाउने नै भएको बताए । अहिलेको निर्वाचन प्रतिष्ठाको कुरा पनि हो । अधिकारीले भने, निर्वाचनमा एकताबद्ध, बचनले प्यारो र कुटनितिमा सक्षम हुन सुझाव दिए । उनले शहर बजारका कुनामा गएर कोहि कसैसंग नमिठो बचन नबोल्न आग्रह गर्दै कास्कीलाई लालकिल्ला बनाउने र प्रदेशलाई एमालेमय बनाउने बाटोमा लाग्न आग्रह गरे ।

कार्यक्रममा पोलिटव्यूरो सदस्य सीता गिरीले एमालेसंग एक्लै निर्वाचनमा लड्न नसक्नेहरु गठबन्धन गरेर आएपनि उनिहरुलाई परास्त गर्ने क्षमता एमालेमा रहेको बताईन्।

कास्की इन्चार्ज कृष्ण थापाले अब चुनाबपछि गण्डकीमा खगराज अधिकारीको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले जनमुखि काम गर्ने विश्वास व्यक्त गरे । उनले संस्थापक मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले थालेका राम्रा कामरुहलाई एमाले नेतृत्वको सरकारले निरन्तरता दिने बताए । उनले भने, सरकारमा जानका लागि कास्कीलाई लालकिल्ला बनाउनुपर्छ । प्रदेशमा हामीले ३५, ३६ सिट जित्नुपर्छ ।

कास्कीलाई लालकिल्ला बनाउँछौ : उम्मेदवारहरु

कार्यक्रममा एमालेका कास्कीका तीनवटै क्षेत्रका उम्मेदवारहरुले आफ्नो परिचयात्मक कुराहरु व्यक्त गर्दै देशलाई फेरी एमालेमय बनाउन, गण्डकी प्रदेश र कास्कीलाई एमालेमय बनाउन कुनै स्वार्थ नराखि मैदानमा उत्रिएको बताए ।

कास्की क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मन बहादुर गुरुङले संसदीय मोर्चामा बसेर पार्टीको गरिमालाई बढाउने काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कास्की क्षेत्र नं १ ख का उम्मेदवार बेद बहादुर गुरुङ श्यामले एमालेले जितेको खण्डमा राष्ट्रको जित हुने भएकोले यसमा सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

कास्की क्षेत्र नं २ ख का उम्मेदवार मीना गुरुङले अघिल्लो पटक समानुपातिकबाट जनताको सेवामा सरिक भएकाे बताइन । पार्टीले दिएकाे जिम्मेवारीलाई शीरोपर गरेको बताउँदै अधूरा रहेका कामहरुलाई जित हाँसिल गरेर पूरा गर्ने बताईन । उनले भनिन्, सबैभन्दा ठूलाे कुरा मन हो । म मनले र भावनाले चुनाव जित्छु भन्ने विश्वास रहेको छ ।

मैले आँट गरेकी छु र तपाँइले मलाई साथ दिनु हुनेछ । गुरुङले आफुसंग भएको सौन्दर्य कला, ज्ञान र सिपको कारण हजारौंलाई स्वरोजगार बनाउन सहयोगि भएको बताउँदै अहिले यसलाई सरकारले पनि मान्यता दिदैं कलेजमा पढाई हुन थालेको बताईन । उनले, भनिन्, म मेरो क्षमता अनुसार ज्ञान, सिप सिकाई र स्वरोजगारका कामहरुकासाथ संसदमा जनजिविकाका सवाललाई निर्भिकताकासाथ प्रस्तुत गर्नेछु ।

कास्की १ ख का उम्मेदवार भिम बहादुर कार्किले निर्वाचनमा हामी सबै उम्मेदवारहरुको जितको सुनिश्चितता गर्नु नै मुख्य कुरो भएको बताए । उनले जनताको घरदैलोमा गएर उहाँहरुको आवश्यक्तालाई परिपूरण गर्नका लागि एमालेका एजेण्डाहरुलाई बुझाउन आवश्यक भएको बताए ।

कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराई अधिकारीले भनिन्, हामीले हाम्रो जित सुनिश्चित बनाउँछौ । हामी ठूलाे पार्टी भएर मात्रै पुग्दैन त्यसैले हामी निर्वाचनबाट फेरि राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन्छौं, उनले भनिन् ।

कास्की क्षेत्र नं ३ क का उम्मेदवार गणेशमान गुरुङले चुनावमा जित हाँसिल गर्नु प्रमुख लक्ष्य रहेकोले मतदाताले सूर्यमा भोट हाल्नेमा आफु ढुक्क भएको बताए । उनले जितेर गएपछि पार्टीको उचाई बढाउन काम गर्ने तर लज्जावोध हुने मौका नै आउन नदिने प्रतिवद्धता व्यक्त गरे । पर्यटनमा विशेष जोड दिदैं कला, संस्कार र संस्कृतिको जगेर्नामा ध्यान दिईने बताए ।

कास्की क्षेत्र नं ३ ख का उम्मेदवार राजिव पहारीले यसपालि कास्की जिल्लालाई लालकिल्ला बनाई छोड्ने लक्ष्य रहेको बताए । यो शाखालाई कायम राख्दै पार्टीको समृद्ध नेपाल सुखि नेपालीको सपना साकार पार्न कस्सिएर काम गर्ने अठोट व्यक्त गरे ।

कास्की क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागीले श्रमिक तथा बेरोजगारलाई रोजगारको व्यवस्था, सामाजिक सुरक्षा, लैंगिक विभेदको अन्त्यमा जोड दिए । उनले घोषणा पत्रमा जे लेख्छौं त्यसलाई पूरा गर्ने बताए ।

कार्यक्रममा कास्कीका तीनवटै क्षेत्रका प्रत्येक्ष उम्मेदवारहरु तथा समानुपातिकको सूचिमा परेकाहरुलाई प्रमुख अतिथि अधिकारी लगायतले फूलमाला लगाएर बधाई दिएका थिए । कार्यक्रम एमाले कास्कीका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष तेजनारायण अधिकारीको अध्यक्षतामा भएको थियो ।