कात्तिक महिनामा बैंकहरुले ब्याजदर नबढाउने

-



     सफल आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० असोज । कात्तिक महिनामा बैंकहरुले ब्याजदर नबढाउने भएका छन् । बैंकहरुबीच अनौपचारिक रुपमा निक्षेपको ब्याजदर असोजकै कायम गर्ने सहमति भएपछि ब्याजदर नबढ्ने भएको हो ।

यसअघि बैठक बसेर ब्याजदर तोक्दै आएको बैंकर्स संघले यसपटक ब्याजदर बढाउने गरी निर्णय गरेको छैन । ब्याजदर निर्धारण गर्न यस पटक संघको बैठक नबस्ने संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माको भनाइ छ ।

शर्माका अनुसार बैंकहरुबीच भएको छलफलबाट कार्तिकमा पनि ब्याजदरलाई असोजकै सरह राख्ने सहमति भएको छ । बैंकहरुले भदौसम्म थुप्रै महिनाअघिको ब्याजदरमा स्थिर बसेर असोजमा भने निक्षेपको ब्याजदर बढाएर ११.०३ बाट बढाएर १२.१३ प्रतिशतसम्म पुर्याएका थिए ।

असोजका लागि बैंकहरुले ब्याजदर बढाएकामा व्यवसायीहरुले विरोध गरिरहेका छन् । ब्याजदर बढाउँदा लागत धेरै बढ्ने भएकाले बैंकरहरुले कात्तिकका लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका बुझिएको छ ।

ब्याजदर घटाउनको लागि केही समयअघि अर्थमन्त्रीले गठन गरेको समितिले ब्याजदर निर्धारण बजारलाई नै छोड्नुपर्ने सुझाव दिएको छ । समितिले तत्काल ब्याजदर घटाउन कुनै सुझाव नदिएकोले बैंकहरु ब्याजदर यथावत राख्ने निर्णयमा पुगेको हुनसक्ने आकलन छ ।