मकवानपुरमा डेङ्गुका बिरामी ४ हजार भन्दा बढी

-



     सफल आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित



मकवानपुर, ३० असोज । बागमती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा गत साउनदेखि हालसम्म डेङ्गुको सङ्क्रमणबाट ४ हजार १ सय ३१ जना बिरामी भएका छन् ।

मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिमा डेङ्गुका बिरामी रहेको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौंडाले जनाएको छ । हेटौंडा उपमहानगरपालिकामा हालसम्म ३ हजार ४ सय ७५ जनामा डेङ्गुको सङ्क्रमण भएको सो कार्यालयले जनाएको छ ।

जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेङ्गुका बिरामी बढी रहेको जनाइएको छ । डेङ्गुका बिरामी बढेसँगै हेटौंडा अस्पताल, निजी क्लिनिक तथा नर्सिङ होममा बिरामीको चाप अत्यधिक रहेको छ । डेङ्गुका गम्भीर बिरामीलाई भरतपुर तथा काठमाडौंका अस्पतालमा पठाउने गरिएको छ ।

एडिस इजिप्सी जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा बढी सहरी क्षेत्रमा पाइने गरेको छ । डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, आँखामाथिको भाग दुख्नेलगायतका समस्या देखिन्छ ।