अर्घाखाँची सिमेन्टले शुरू गर्याे भारतमा निर्यात

-



     सफल आवाज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित



भैरहवा, ३१ असोज । अर्घाखाँची सिमेन्ट नेपालबाट भारततर्फ निर्यात शुरु भएको छ । अर्घाखाँची सिमेन्टले आफ्नो कम्पनीबाट उत्पादित सिमेन्ट भारत निर्यात गरेको हो । सरकारले सिमेन्टको निर्यातमा पनि अनुदान दिने कार्यविधि ल्याएसँगै अर्घाखाँचीले भारततर्फ सिमेन्ट निर्यात शुरू गरेको बुझिएको छ ।

सोमबार उद्योग परिसरमा एक औपचारिक कार्यक्रम गरेर कम्पनीले सिमेन्ट भारततर्फ पठाउन शुरू गरेको बताएकाे हो । उद्योगका अनुसार आज अर्घाखाँची ब्रान्डको १ सय टन पीपीसी सिमेन्टबाट निर्यातको शुरुवात गरिएको हो । 

सरकाले चालु आर्थिक वर्षको बजेटमा सिमेन्ट निर्यातमा अनुदान दिने घोषणा गरेको थियो । उक्त घोषणा अनुरुप नै आवश्यक प्रकिया पूरा गरेर निर्यात शुरु गरिएको उद्योगले जानकारी दिएको छ । 

सरकारले बजेटमा सिमेन्ट निर्यातका लागि गरेको घोषणा अनुसार केही समयअघि कार्यविधि पनि आइसकेको छ । अर्घाखाँचीले कार्यविधि आइसकेपछि निर्यात् शुरु गरेको हो भने पाल्पा सिमेन्टले कार्यविधि आउनुअघि नै निर्यात गर्न थालिसकेको छ ।

बजेटमा गरिएको व्यवस्था अनुसार सिमेन्ट निर्यात गर्ने उद्योगीले कुल निर्यात रकममा ८ प्रतिशतसम्मको अनुदान पाउनेछन् । यसबाहेक ३० प्रतिशत न्यूनतम मूल्यअभिवृद्धि भएको हुनुपर्ने र यसमा अभिवृद्धि ५० प्रतिशत भएमा अनुदान थपिँदै जाने व्यवस्था गरिएको छ।