तनहुँको परेवाडाँडामा जिपलाइन निर्माण हुँदै

-



     सफल आवाज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित



तनहुँ, ३१ असोज । तनहुँको परेवाडाँडामा १ करोडभन्दा बढीको लगानीमा जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालनमा ल्याइने भएको छ ।

सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले जिपलाइन र स्काई रोप साइक्लिङको सुविधा  थप गर्न लागेको हो । रिसोर्टका सञ्चालक विवेक सापकोटाका अनुसार केही दिनमा जिपलाइन तयार हुनेछ । स्काई रोप साइक्लिङका लागि भने कात्तिक मसान्तसम्म लाग्न सक्नेछ । 

सापकोटाको भनाइ अनुसार मादी नदी वारपार गर्नेगरी ५ सय मिटरको जिपलाइन सञ्चालनमा ल्याइन लागेको हो । उक्त जिपलाइन परेवाडाँडाबाट चिन्तुडाँडासम्म पुग्ने व्यवस्था गरिएको छ । रिसोर्टले ९० फिट उचाईमा १ सय मिटरको स्काई रोप साइक्लिङको परीक्षण पनि गरिररहेको छ ।’ 

जिपलाइनका लागि १ हजार ५ सय र स्काई रोप साइक्लिङ (दुईतर्फी) का लागि १ हजार शुल्क तोकिएको छ । रिसोर्टले जिपलाइन र स्काई रोप साइक्लिङका लागि मात्र १ करोड २५ लाख रुपैयाँ बजेट छुट्याएको सापकोटाको भनाइ छ । 

यो रिसोर्ट दमौलीबाट ५ किमी उत्तर परेवाडाँडामा १० रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यहाँ ४ रोपनी जग्गामा विभिन्न संरचनाहरू तयार गरिँदैछन् ।  आउने २ वर्षमा लक्जरी रूम,  स्विमिङ पुल, चिल्ड्रेन फनपार्क लगायतका संरचना समेत थप्ने योजना रहेको सापकोटाले जानकाररी दिए ।

रिसोर्टले २ वर्ष अगाडिदेखि जोइन्ट स्विङ सञ्चालन गरिरहेको छ ।  ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्ने सापकोटा बताउँछन्।