गरिबी उन्मूलनका निम्ति तत्काल कदम चाल्न महासचिव गुटेरेसको आह्वान

-



     सफल आवाज    
     कार्तिक १ गते २०७९ मा प्रकाशित



संयुक्त राष्ट्रसङ्घ, १ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गरिबी उन्मूलनका निम्ति तत्काल विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन् ।

अन्तरराष्ट्रिय गरिबी उन्मूलन दिवसका अवसरमा दिएको भिडियो सन्देशमा उनले विश्वका लाखौँ जनता कोभिड–१९ का कारण गरिबीतर्फ धकेलिएका, चार वर्षभन्दा बढी समयको मेहनतले प्राप्त प्रगतिलाई पछाडि धकेलेको, असमानताका खाडल अझ फराकिला भएका, राष्ट्रिय एवम् घरेलु अर्थतन्त्रमा रोजगारीका अवसर गुमेको, खाद्यान्न र ऊर्जाको मूल्य बढ्दा र विश्वव्यापी मन्दीको छायामा वर्तमान विश्व रूमल्लिएको वास्तविकता प्रस्तुत गरे।

एकै समयमा जलवायु सङ्कट र उग्र द्वन्द्वले ठूलो पीडा निम्त्याइरहेको, सबैभन्दा अधिक पीडा गरिब जनताले भोगिरहेका, विकासोन्मुख देश आर्थिक वृद्धिका निम्ति लगानीका स्रोत र ऋण राहतमा पहुँच बढाउन असमर्थ हुँदा दिगो विकास लक्ष्य हाँसिल गर्न कठिन भएको उनले बताए।

महासचिवले स्वास्थ्य र सभ्य काम, लैङ्गिक समानता, सामाजिक सुरक्षा, खाद्य सुरक्षा र शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिए।

रोजगारी सिर्जना गर्ने हरित अर्थतन्त्रमा लगानी बढाउन अपरिहार्य भएको अभिमत पनि उनले सन्देशमा व्यक्त गरे। राष्ट्रसङ्घीय महासभाका अध्यक्ष कासाबा कोरोसीले पनि जलवायु परिवर्तन, कोभिड–१९, सबै खाले द्वन्द्वका साथै युक्रेन युद्धको अन्त्यबाट विश्व शान्ति प्रवद्र्धन तथागरिबी उन्मूलनमा सहयोग पुग्ने बताए।