डब्ल्यूएचओका सिरिया प्रमुखमाथि लाखौं डलर दुरूपयोग गरेको आरोप

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित



दमास्कस, ३ कात्तिक । सिरियामा रहेको संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) कार्यालयका प्रमुखमाथि लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ ।

कोभिड–१९ को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरूपयोग गरेको कार्यालयका कर्मचारीले आरोप लगाएका हुन् ।

एसोसिएटेड प्रेस ९एपी०ले प्राप्त गरेको १ सयभन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्यूएचओका सिरिया प्रमुखले सिरियाली सरकारका उच्च पदस्थ राजनीतिज्ञहरूसँग सम्झौता गर्न कर्मचारीहरूलाई दबाब दिएकी तथा लगातर गलत ढङ्गले कोष र दाताहरूले दिएको रकम दुरूपयोग गरेको बयान दिएका भेटिएको छ । कर्मचारीहरूले अनुसन्धानकर्ताहरूलाई उनले भ्रष्टाचार गरेको बयान दिएका दस्तावेज  एपीले हात पारेको हो ।

म्याग्टिमोभाले उनीमाथि लागेका आरोपबारे जवाफ दिन अस्वीकार गरेकी छिन् । आफ्नो पदीय मर्यादाको ख्याल गर्दै उनले जानकारी दिन अस्वीकार गरेकी बताइएको छ । यद्यपि उनले ती आरोपलाई अपमानजनक भनेकी छन् ।

उनीविरूद्ध १२ जना कर्मचारीले उजुरी गरेका थिए । उजुरीपरेसँगै डब्ल्यूएचओले २० भन्दा बढी अधिकारी खटाएर आन्तरिक अनुसन्धान थालेको छ । उक्त संस्थाले उनीविरूद्धको अरोपको छानबिन भइरहेको र त्यसनिम्ति बाह्य अनुसन्धानकर्ता परिचालन गरेको बताएको छ ।