राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

-



     सफल आवाज    
     कार्तिक ९ गते २०७९ मा प्रकाशित



लण्डन, ९ कात्तिक । बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ ।

बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी थिए।

यस्तै बेलायतको संसद्मा रहेको बेलायत–नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले अध्यक्ष तिमिल्सिनाको सम्मानमा आयोजना गरेकाे दिवाभोजमा पनि तिमिल्सिना सहभागी भए।