पोखरामा छठ पर्वको तयारी शुरू, आगामी बर्ष महोत्सवका रुपमा मनाईने

-



     आरजू विष्ट सल्यानी    
     कार्तिक ११ गते २०७९ मा प्रकाशित



पोखरा, ११ कार्तिक । तिहार लगत्तै आउने छठ पर्ब मनाउन तयारी थालिएको छ । यस वर्षको महापर्व छठ औपचारिक रुपमा शुक्रबार कार्तिक ११ गतेबाट शुरु भएको छ । पोखरामा यो पर्व कार्तिक १३ गते औपचारिक रुपमा शुरु भई कार्तिक १४ गते समापन हुने भएको छ ।

छठ पर्वको पहिलो दिन शुक्रबार ‘नहाय खाय’ विधि अनुसार छठ मनाइएको पोखरा नदीपुरस्थित नीलकण्ठ महादेव आश्रम सेवा समितिको छठ पूजा समितिका सदस्य सन्तोष वानियाले बताए । उनका अनुसार श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि पोखराका विभिन्न चार स्थानमा छठको तयारी गरिएको छ । पोखरामा नारायणस्थानमा रहेको नीलकण्ठ महादेव मन्दिरमा, केदारेश्वर महादेव लेकसाईड, माछा पोखरी तथा सेती नदी किनारमा मनाउने तयारी गरीएको छ ।

समितिले शुक्रबार नीलकण्ठ महादेव मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी छठ पर्वलाई भव्य र सभ्य बनाउन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हौसला दिएको र भविष्यमा एउटा विशेष ठाउँमा सबै जम्मा भएर छठलाई महोत्सवको रुपमा मनाउन सल्लाह दिएको समितिका अध्यक्ष रामआधार गुप्ताले जानकारी दिए ।

गुप्ताले पोखरा ३५, ३६ वर्ष अघिबाट छठ मनाउँदै आएको बताए । त्यो समयमा ८, ५, ७ जनाको समूहमा मनाउँदै आएकोमा अहिले त्यो संख्या ५, ७ हजारमा पुगेको बताए । उनले अब यस पर्वलाई महोत्सवको रुपमा मनाउने र बाह्य पर्यटकलाईसमेत आकर्षण दिलाउने गरी गर्ने सोंच रहेको बताए ।

समितिका कोषाध्यक्ष दीनेश कुमार चौधरीले सनातन धर्ममा प्रचलनमा रहेको यो पर्व प्राकृतिक शक्ति अर्थात सूर्यदेवको पूजा भएकोले हामी, हाम्रो समाज र विश्ववासिले मनाउनु पर्ने बताए । कनिकी विशेषतः सूर्यको पूजा हुने भएकोले यो महत्वपूर्ण छ । सूर्यबिनाको जिवित संचार कल्पना पनि गर्न नसकिने भएकोले विश्वकल्याण्का लागि पनि यो पर्व महत्वपूर्ण छ ।

समितिका सचिव गोरखनाथ जैसवालले छठमा छठी माता अर्थात दुर्गाको पूजा पनि हुने बताउँदै तीन दिनको ब्रतबसेर चेलीबेटीले मनाउने भएता पनि पुरुषहरु पनि पूजामा साथमा रहने बताए । उनले यो पवै विसंगती, बिकृतीलाई धोई पखाल्ने र सुद्ध हुने पर्व भएको बताए । उनले भने त्यसैले त गंगामाताको जलले स्नान गरेर सुद्ध भई पूजापाठमा लाग्ने गरिएको हो ।

नीलकण्ठ महादेव मन्दिरमा संरक्षक महन्त सदाशिवले प्राकृति दृश्टिकोणले, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक हिसाबले पर्व महत्वपूर्ण रहेको बताए । कात्तिक शुक्ल चतुर्र्थीको दिनदेखि सुरु हुने यो पर्व सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा सूर्यदेवको उपासना गरिन्छ । सनाततन धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ ।

पहिलो दिन सूर्य देवतालाई अर्घ अर्पण गरिन्छ । साँझको समयमा सूर्य देवतालाई प्रसादका रुपमा दिइने अघ्र्य नै पुनःबिहानको समयमा ‘भोरको अघ्र्य’ मा दिइने चलन रहेको छ । छठ व्रत गर्ने सबै जना चौथी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन् । यही तिथिका दिनदेखि छठ पर्व औपचारिकरुपमा प्रारम्भ हुने गर्दछ । यस दिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् ।

कात्तिक शुक्ल पञ्चमी तिथिका दिनभरि पर्व गर्ने वर्तालु उपवास गर्ने गर्दछन्। उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाँडामा सख्खर राखेर खिर बनाएर खाने गरिन्छ । कात्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिलाले डुब्दै गरेको सूर्यलाई अघ्र्य दिन्छन् ।

साँझका समयमा ताल, तलैया, नदीमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अघ्र्य चढाउने गरिन्छ । छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायःरातभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् । छठको प्रसादमा ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिँगार, फलफूल, पान, सुपारी, धूप, दीपलगायतका हुन्छन् ।