हेटौंडा सिमेन्ट उद्योग ३ महिनापछि पुन: सञ्चालनमा

-



     सफल आवाज    
     कार्तिक १६ गते २०७९ मा प्रकाशित



हेटौंडा, १६ कात्तिक । हेटौँडा सिमेन्ट उद्योग मंगलबारबाट पुन: सञ्चालनमा आएको छ । उद्योग व्यवस्थापनका अनुसार तीन महिनादेखि बन्द रहेको उक्त उद्योगमा हिजो मंगलबारदेखि भट्टीमा कोइलाको आपूर्ति गरेर क्लिङ्कर उत्पादनको काम सुरु गरिएको हो ।

उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार उद्योगलाई आवश्यक गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ । हाल १४ हजार मेट्रिक टन कोइला आपूर्ति भइरहेको छ ।

केही महिनादेखि आर्थिक अभावका कारण समयमै कोइला आपूर्ति गर्न कठिनाइ भएकोमा हाल वैकल्पिक उपायमार्फत् सिमेन्टको पुनः उत्पादन सुरु गरिएको उद्योगको भनाइ छ । उद्योगले तीन महिनासम्म उत्पादन बन्द गर्नुपर्दा निकै क्षति ब्यहोर्नुपरेको र वैकल्पिक आर्थिक कारोबारको उपाय अवलम्बन गरेकोले मात्र उद्योग पुन: सञ्चालनमा आउन सकेको बुझिएको छ ।

व्यवस्थापनले उद्योगको उपकरण मर्मत सम्भारका लागि दुई हप्ता उत्पादन बन्द गरेको थियो । तर बाँकी समय भने कोइलाको अभावका कारण साउनको दोस्रो हप्तादेखि सिमेन्ट उत्पादनको काम बन्द गर्नुपर्ने बाध्यता आइपरेको बताएको छ । उद्योगले दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ ।