नियम विपरीतको प्रिमियम फिर्ता गर्न केन्द्रीय बैंकको निर्देशन

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । ऋणीहरुसँग नियम विपरित प्रिमियम लिने बैंकहरूलाई रकम फिर्ता गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । ऋणीहरू नियम विपरीत प्रिमियम लिएको भन्दै उजुरी गरेपछि केन्द्रीय बैंकले फिर्ता गर्न बैंकहरूलाई निर्देशन दिएको हो ।

बैंकहरुले ऋणीबाट कर्जा सम्झौता विपरीत प्रिमियम बढाएर ब्याज लिएको पाइएपछि राष्ट्र बैंकले आफैंले यसबारेमा अनुसन्धान गरिरहेको बताएको थियो । केन्द्रीय बैंक स्रोतका अनुसार गत आर्थिक वर्षमा बैंकहरुले आफूखुसी बढाएको प्रिमियम रकम मात्रै साढे ३ अर्ब रुपैयाँ थियो । बैंकहरुरले लिएका साढ् ३ अर्ब मध्ये २ अर्ब रकम तत्काल ऋणीहरुलाई फिर्ता गर्न बैंकहरुलाई लिखित निर्देशन दिइएको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

नियम अनुसार बैंकहरुले ऋणीसँग कर्जा सम्झौता गरेपछि औसत आधारदरमा आएको परिवर्तनका आधारमा मात्र ब्याज बढाउन पाउने व्यवस्था छ । तर उजुरी र अनुसन्धानपछि सम्झौता विपरीत कर्जाको प्रिमियम बढाएर चर्को ब्याज लिएको पाइएपछि राष्ट्र बैंकले फिर्ता गर्न निर्देशन दिएको हो ।

गत वर्षदेखि बैंकहरुमा तरलता समस्या देखिए पनि ब्याजमा वृद्धि गरेर आफ्ना नाफा बढाएका छन् । ब्याजदर उकालो लाग्दै जाँदा बैंकहरुलाई फाइदा भए पनि उद्योगी, व्यवसायीहरु मारमा परेको भन्दै उनीहरुले चर्को विरोध गर्दै आइरहेका छन् ।