पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई कसले हान्यो गोली?

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित



लाहोर, १७ कात्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि केही समयअघि गोली प्रहार भएको छ । गोली लागेपछि पूर्व प्रधानमन्त्री खान घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार पाकिस्तानको गुजरनवालामा रहेको अल्लाहवाला चोक नजिकै र्यालीमा रहेका उनीमाथि गोली प्रहार भएको हो । र्‍यालीमा खान रहेका कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका प्रत्यक्षदर्शीले बताएका छन् ।

गोली लागेपछि समर्थकहरुलाई हात हल्लाउँदै इमरान खान

उक्त गोलीकाण्डमा पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको बताइएको छ । घटनामा पाकिस्तान तहरीक-ए-इन्साफका अर्का नेता फैसल जावेदसहित अन्य केही व्यक्ति पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

गोली हान्ने व्यक्तिलाई तत्कालै घटनास्थालबाट प्रहरीले पक्राउ गरे पनि उनको परिचय नखुलेको र गोलीकाण्डको जिम्मेवारी हालसम्म कसैले नलिएको बताइएको छ । प्रधानमन्त्री शहबाज शरिफले विज्ञप्तिमार्फत् घटनाको भर्त्सना गर्दै तत्काल अनुसन्‍धान शुरु गर्न अधिकारीहरुलाई निर्देशन दिएका अन्तरराष्ट्रिय सञ्चारमाध्यम अलजजिराले उल्लेख गरेको छ ।