लामिछानेमाथिको मुद्दामा आज पनि थुनछेक बहस हुँदै

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ कात्तिक । नाबालिग बलात्कार आरोपमा हिरासतमा रहेका पूर्व क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।

उनीविरुद्धको मुद्दामा हिजो बिहीबार पनि थुनछेक बहस भएको थियो । बिहीबार लामिछानेका तर्फबाट ८ जना अधिवक्ताले बहस गरेका थिए । बिहीबारको बहस नसकिएपछि आजका लागि पनि मुद्दा ‘हेर्दहेर्दै’मा राखिएको थियो । आज लामिछानेका तर्फबाट काठमाडौं जिल्ला अदालतमा अधिवक्ता शम्भु थापालगायतले बहस गर्ने बताइएको छ । सरकारी वकिलले पनि बहस गर्ने तालिका रहेको छ ।

गत कात्तिक १४ गते लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दावी गर्दै सोमबार काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको कसूरमा मुद्दा दायर भएको थियो । मंगलबारबाट उक्त मुद्दामा बयान शुरु भएको थियो ।

पीडित भनिएकी जाहेरीवाला किशोरीले भने आफूलाई लामिछानेले भेट्‍न बोलाएको, नगरकोट लगेको र फर्कँदा होटलमा राखेर २ पटक बलात्कार गरेको बताउँदै आएकी छिन् ।

आरोपित लामिछानेलाई आत्मसमर्पणका लागि गत असोज २० गते अमेरिकाबाट फर्कँदै गर्दा प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राऊ गरेर हिरासतमा लिएको थियो । उनीविरुद्ध तीन पटकसम्म म्याद थप गरी अनुसन्धान भइसकेको छ ।

लामिछानेले आफूलाई होटलमा लगेर बलात्कार गरेको भन्दै एक किशोरीले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछानेले भने आफू निर्दोष रहेको अदालतसमक्ष बयान दिँदै आएका छन् । गोपनीयताका लागि नाम परिवर्तन गरेर जुनेली राखिएकी जाहेरीवाला किशोरी हाल माइती नेपालको संरक्षणमा छिन् ।