राधी विद्युत कम्पनीको हकप्रद बाँडफाँट

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ कात्तिक । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले गत असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १.४७५२ अनुपातमा निष्कासन गरेको हकप्रद सेयर कात्तिक १७ गते बाँडफाँट गरेको हो ।

कम्पनीले गत भदौ १० गतेसम्म कायम सेयरधनीहरुका लागि ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त परिमाणमध्ये रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ सेयरधनीहरुलाई ८२ लाख ३५ हजार २३३ कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । यसपटक बाँडफाँट नभएर बाँकी रहेको १३ लाख ५२७.९९ कित्ता सेयर भने कम्पनीले लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ ।

मुक्तिनाथ क्यापिटल लिमिटेड सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको कम्पनीको सेयरमा हकभन्दा बढी माग गरी आवेदन दिने आवेदकहरुको हकमा बाँडफाँट नभएको हकप्रद सेयरबापतको रकम कात्तिक २० गतेदेखि आईपीएस मार्फत बैंक खातामा जम्मा गरिने कम्पनीले सूचनामार्फत् जानकारी गराएको छ ।

सेयरका लागि मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली, मुक्तिनाथ विकास बैंक इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङ बेसीशहरस्थित शाखाबाट आवेदन दिन पाइने व्यवस्था गरिएको थियो ।  

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ रहेकाेमा हकप्रद सेयर बिक्री भएपछि चुक्ता १ अर्ब ६० करोड पुग्नेछ ।