एनआईसी एशिया लघुवित्तको नाफा घट्यो

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ कार्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । संस्थाले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखेय घटेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म संस्थाको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.१८ प्रतिशतले घटेर ६ करोड ५७ लाख रुपैयाँमा आइपुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २० करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको तथ्याङ्क छ ।

यसरी उल्लेख्य मात्रामा नाफा घट्नुमा खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका आम्दानी घट्नु रहेको देखिएको छ । यो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा ३१.९० प्रतिशतको गिरावट आएको छ । यस्तै खुद फि तथा कमिशन आम्दानी ७०.०६ प्रतिशतले घटेको पाइएको छ । पहिलो त्रैमासमा लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.४१ प्रतिशत र सञ्चालन मुनाफा ६८.१७ प्रतिशतले घटेको छ ।

यो अवधिमा संस्थाको खुद नाफामात्र नभई प्रति सेयर आम्दानी अर्थात् ईपीएसमा पनि गिरावट आएङ्कव छ । यो अवधिमा लघुवित्तको ईपीएस ३१ रुपैयाँ ३ पैसा घटेर १५ रुपैयाँ १३ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो ४७.४५ गुणा रहेको । यस्तै कम्पनीको प्रति सेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा रहेको विवरणमा उल्लेख छ ।