
काठमाडौं, २२ कात्तिक । देशकै तेस्रो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान हुने भएको छ । नोभेम्बर ३० अर्थात् मङ्सिर १४ गतेका दिनमा यान्त्रिक उडान गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
उक्त यान्त्रिक उडानका लागि २५ तारिखमा एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउने तयारी भएको नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए। उनका अनुसार उक्त जहाजले यान्त्रिक उडानमार्फत विमानस्थलमा कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेका विषयमा जाँच गर्नेछ ।
एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्नेछ । उक्त कम्पनीको जहाजले देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गर्नेछ । सोही कम्पनीले गतवर्ष फागुन ६ गते मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो ।
चराविज्ञले छोटो अनुसन्धान गरी चराचुरुङ्गी अनुकूल उडान हुने गरी सुरुआतमा रातिको समयमा उडान गर्ने गरी विमानस्थल सञ्चालन गर्ने प्राधिकरणको योजना बनाएको छ । हालको आन्तरिक विमानस्थल दिउँसो र अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान गर्ने योजना रहेको महानिर्देशक ई अधिकारीले बताए। उनले भने, “देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरामा पर्यटन प्रबर्धन तथा आर्थिक गतिविधि बढाउन विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।
विमानस्थल सञ्चालन भएसँगै पोखरा अन्तर्राष्ट्रिय सञ्जालमा सिधा जोडिनेछ ।” करिब ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल निर्माणमा झण्डै २२ अर्ब लगानी हुने प्राधिकरणको भनाइ छ । विमानस्थलमा हाल २ हजार ५ सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । एटिसी टावर, सातवटा भवन, एउटा ह्याङ्गर पनि निर्माण गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण निर्माण आयोजना प्रमुख चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसीले निर्माण गरेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार ‘फोरडी मोडल’ मा पर्ने पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने बताइएको छ ।
उक्त विमानस्थलमा तीन वटा न्यारोबडी, चार वटा एटिआर र चारवटा ट्विनअटर गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० मा यान्त्रिक परीक्षण उडान गरी जनवरी १ देखि व्यावसायिक उडान सञ्चालन हुने बताइएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



