गरिमा विकास बैंकले गर्‍यो १४.५० प्रतिशत लाभांश प्रस्ताव

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । गरिमा विकास बैंकले १४.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको ईजाजतपत्र प्राप्त यस बैंकको गत कार्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को मुनाफा तथा सेयर प्रिमियमबाट शेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

हाल कायम चुक्ता पुजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ रुपैयाँको १३ प्रतिशत बराबर बोनस सेयर बापत ५९ करोड ६८ लाख १३ हजार ५५५.२५ रुपैयाँ र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश ६ करोड ८८ लाख ६३ हजार १०२.५३ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकालले बताए । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ । हाल गरिमा विकास बैंक लिमिटेडले करिब ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले नेपालभरका सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, एउटा एक्स्टेन्सन काउन्टर, ५१ एटिएम एवं डिजिटल बैंकिङ्ग मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।