मंसिरमा वाणिज्य बैंकहरूले ब्याजदर नबढाउने

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ कात्तिक । मंसिरमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज मंगलबार बिहान बसेको बैंकर्स संघको बैठकले अर्थतन्त्रको सूचकहरु स्थिर रहेकोले ब्याजदर हेरफेर गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको संघले जनाएको छ ।

संघका अनुसार मुख्य आर्थिक सूचकहरु  तथा मुद्रास्फिर्ति पनि पहिलेकै अवस्थामा रहेको छ । यसैले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले लिने लक्ष्यअनुसार पुसमा ब्याजदर तल-माथि गर्न सकिने अवस्था भए पनि हाललाई यथावत राख्ने निर्णय गरिएको हो । यसबाहेक ब्याज दरसम्बन्धी कुनै औपचारिक सहमति भने नगरिएको संघको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत बैंकहरूलाई ब्याजदर बढाउन प्रोत्साहन गरेको भए पनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंकर्स संघले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको थियो । भदौमा पनि ब्याजदर पुरानै कायम गरिएको थियो ।

तर असोजमा भने ६ महिनादेखि स्थिर ब्याजदरमा काम गरिरहेका वाणिज्य बैंकहरुले महिनाका लागि भने ब्याजदर बढाएका थिए । यसरी बढेको ब्याजदर अनुसार वाणिज्य बैंकहरुको अधिकतम दर १२.१३ प्रतिशत पुगेको थियो । यो निर्णयसँगै अब ती बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशतसम्मको दरले ब्याज दिन पाउने भएका थिए ।

यस्तै संस्थागत मुद्दति निक्षेपमा व्यक्तिगत निक्षेपको भन्दा २ अंक कम ब्याज दिनुपर्ने भएकाले बैंकहरुले १०.१३ प्रतिशतसम्म ब्याज दिन पाउने अवस्था थियो । ब्याजदर बढेपछि उद्योगी व्यवसायीहरुले त्यसको चर्को विरोध गरेका थिए । कात्तिकमा भने ब्याजदरमा कुनै घटबढ गरिएको थिएन ।