विकास बैंक र फाइनान्स कम्पनीकाे ब्याज घट्याे

-



     सफल आवाज    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० कात्तिक । विकास बैंक र फाइनान्स कम्पनीहरुले मंसिर महिनामा ब्याजदर घटाएका छन् । हालै मंसिर महिनाको लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीमध्ये पछिल्ला दुई संस्थाहरुले ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरुले भने असोजमा परिवर्तन गरेर कायम भएको ब्याजदरलाई कार्तिक र मंसिर महिनामा पनि कुनै घटबढ नगरी निरन्तरता दिएका छन् ।

मंगलबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको थियो । वाणिज्य बैंकहरु मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेपछि मात्रै ब्याजदरमा परिवर्तन गर्ने विचारमा रहेकाले तत्कालका लागि ब्याजदर यथावत् राखिएको थियो ।

विकास बैंकहरुले भने कात्तिक महिनामा कायम रहेको ब्याजदरमा केही कम गरेका छन् । मंसिरमा यस्ता बैंकको ब्याजदर ०.१५ प्रतिशतले घटाएका छन् । यसैगरी फाइनान्स कम्पनीहरुले भने ०.१५ प्रतिशत देखि ०.२० प्रतिशत सम्म ब्याजदर घटाएका विवरणमा उल्लेख छ ।

कात्तिक महिनामा विकास बैंकहरुको ब्याजदर अधिकतम १३ प्रतिशत रहेकोमा मंसिर महिनामा घटेर १२।८५ प्रतिशतमा झरेको छ । त्यसैगरी फाइनान्स कम्पनीहरुको ब्याजदर १३.५ प्रतिशत रहेकोमा घटेर बढीमा अधिकतममा १३.३५ प्रतिशतमा आइपुगेको छ ।

मंगलबारको ने बैंकर्स एशोसियसनको बैठकले ब्याजदर यथावत् राख्ने निर्णय गरे पनि सोही दिन बसेको डेभलपमेन्ट बैंकर्स एशोशियसन र फाइनान्स एशोशिएसनले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् ।