सानिमा ग्रोथ फण्डमा मागको ६५ प्रतिशत मात्रै आवेदन

-



     सफल आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ मंसिर । सानिमा क्यापिटलले बिक्रीमा ल्याएकाे सानिमा ग्रोथ फण्डको इकाईका लागि मागको ६५ प्रतिशत मात्र आवेदन परेको छ । सिडीएस एन्ड क्लियरिङ लिमिटेडले आज बिहान १० बजे अद्यावधिक गरेको तथ्याङ्क अनुसार उक्त कम्पनीको ६६ करोड ४६ लाख ९२ हजार ५ सय रुपैयाँ बराबरको ६ करोड ६४ लाख ६९ हजार २५० कित्ताका लागि ४१ हजार १० आवेदकले आवेदन दिएका छन् ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँकाे दरमा १२ करोड इकाई निष्कासन गरेको थियाे । यसमा घटीमा १ करोड ५६ लाख इकाईकाे कोष प्रवर्धक रहेकाे सानिमा बैंकका लागि रहेकाे छ । २४ लाख इकाई योजना व्यवस्थापक रहेकाे सानिमा क्यापिटलका लागि रहेकाे छ। यसमा आवेदन दिने मिति हिजो कात्तिक ३० गतेलाई तोकिएको थियो ।

इच्छुक लगानीकर्ताले बाँकी रहेकाे १० करोड २० लाख इकाईका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । यसमा घटीमा १०० इकाईका लागि आवेदन दिन पाइने र बढीमा १ करोड २० लाख इकाईका लागि आवेदन पेश गर्न पाइने प्रावधान थियो ।

इकाईमा लगानीका लागि सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइने यो फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।