
काठमाडौं, १ मङ्सिर । प्रमुख राजनीतिक दल जलवायु परिवर्तन र वातावरणका मुद्दामा एकै ठाउँमा देखिएका छन् । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रमुख दलले सार्वजनिक गरेको घोषणापत्रमा जलवायु परिवर्तन र वातावरणका मुद्दालाई प्राथमिकता दिएको देखिएको छ ।
नेपाल जलवायु परिवर्तनका हिसाबले उच्च जोखिममा रहेको मुलुक भएको भन्दै प्रमुख दलले आफ्नो चुनावी घोषणापत्रमा यी विषयलाई प्राथमिकतामा राखेको जनाएका हुन् । नेपाल जलवायु परिवर्तन र वातावरणका हिसाबले जोखिममा परेकाले विकसित मुलुकले हाम्रो जस्तो मुलुकमा अनुदान सहयोग गरेर जोखिम न्यूनीकरण गर्नुपर्नेमा दलका प्रतिनिधिले जोड दिएका छन्।
नेपाल वातावरण पत्रकार समूहले प्रकृति रिसोर्सेज सेन्टरको सहकार्यमा आयोजना गरेको हाकाहाकी बहसमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का प्रतिनिधिले आफ्ना घोषणापत्रमा समेटिएका विषयलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा कांग्रेसको चुनावी सङ्कल्प प्रस्ताव लेखनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका गेजा शर्मा वाग्लेले आफ्नो पार्टीले जलवायु परिवर्तन, वातावरण र विपद् व्यवस्थापनका विषयलाई प्रमुख पिलरका रूपमा राखेको बताए। “कांग्रेसले आफ्नो चुनावी सङ्कल्प प्रस्तावमा गर्न सम्भव भएका विषयलाई मात्रै समेटेको छ”, उनले भने, “हामीले क्षेत्रगत विषयमा समेत जलवायु परिवर्तन र वातावरणका मुद्दालाई पाँच वर्षमा पूरा गर्न सकिने विषय मात्र समेटेका छौँ ।”
कांग्रेसले आफ्नो चुनावी सङ्कल्प प्रस्तावमा मुलुकलाई सन् २०४५ भित्र कार्बन शून्यमा झार्ने सङ्कल्प गरेको छ । वन क्षेत्रलाई ४७ प्रतिशित पुर्याउनुका साथै पाँच वर्षभित्रमा ५० प्रतिशत विद्युतीय सवारीसाधनको प्रयोग पु¥याउने लक्ष्य राखेको वाग्लेले बताए ।
कांग्रेसले पर्या–पर्यटन, जैविक विविधतालगायतको विकासका लागि नीतिगत सुधार गरी संस्थागत विकासको विषयलाई प्राथमिकतामा राखेको छ । साथै खनिज ऊर्जा घटाउने, वित्त अनुदान र सहयोग अनुदान लिने विषयलाई प्राथमिकतामा राखिएको छ । ऋण सहयोगको विषय सुरुमा राखे पनि त्यसलाई हटाएर संशोधन गरिएको उनले जानकारी दिए।
यसैगरी जलवायु परिवर्तनका विषयमा एमालेले आफ्नो घोषणापत्रमा विशेष प्राथमिकता दिएको पाइएको छ । “हाम्रो पार्टीले स्वच्छ पानी, सफा वातावणको सुनिश्चित गर्ने विषयमा आगामी दुई वर्षभित्रै सबै परिवारमा पिउनेपानीको आधारभूत सुविधा पु¥याउने विषयलाई महत्वको साथ राखेको छ”, एमाले केन्द्रीय सदस्य रघुजी पन्तले भने, “जलवायु परिवर्तनको मुख्य कारक हामी नभए पनि विकसित शक्ति राष्ट्र प्रमुख हुन् ।
उनीहरूले गरेको प्रदूषणका कारण हामीले जोखिम मोलिरहेका छौँ ।” उनले प्रमुख पार्टीहरूले आफ्नो चुनावी एजेण्डामा जलवायु परिवर्तन र वातावरणको विषयलाई प्राथमिकतामा राखेको भए पनि कार्यान्वयनमा चुनौती रहेको धारणा व्यक्त गरे। नेता पन्तले नेपालमा विद्युतीय उपयोगको विषयलाई प्राथमिकताका साथ आगामी सरकारले ध्यान दिनुपर्ने बताउँदै घरेलु उपयोगलाई बढाउनका लागि ग्यासमा सरकारले दिँदै आएको सहुलियत अनुदानलाई हटाउनुपर्ने सुझावसमेत दिए।
नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष रोशनी अधिकारीको अध्यक्षतामा भएको बहसमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिनाले आफ्नो पार्टीले फोहरमैला व्यवस्थापन, वायुप्रदूषण नियन्त्रण, नदीजन्य फोहर नियन्त्रणका विषयलाई प्राथमिकतामा राखेको बताए।
“नेपालको हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम बढ्दोमात्रामा रहेको छ, त्यसलाई नियन्त्रण र न्यूनीकरणका लागि विशेष योजना बनाएर लैजानुपर्ने आवश्यकता रहेको छ”, उनले भने “नेपालमा विपद्का घटना बढिरहेका सन्दर्भमा त्यसलाई न्यूनीकरण गर्नका लागि पूर्वतयारीका साथै अन्तरसरकारी निकायबीचको समन्वयलाई प्राथमिकतामा राखिएको छ ।”
सहरी हरियालीलाई विशेष योजना बनाएर कृषिलाई वातावरणसँग जोडिनुपर्ने र जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा बढी देखिएकाले अनुकूलित हुने योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



