
काठमाडौं, २ मंसिर । गत आवमा वैदेशिक मुद्रा सञ्चिति कायम गर्न नसकेको राष्ट्र बैंकले चालु आवको शुरुवाती ३ महिनामा विदेशी मुद्रा सञ्चितिको लक्ष्य हासिल गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत मूल्य वृद्धिलाई ७ प्रतिशतमा सीमित राख्ने र ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम राख्ने लक्ष्य लिएको थियो ।
नेपाल राष्ट्र बैंकले लिएको नीतिमध्ये मूल्य वृद्धिको लक्ष्य भने यो अवधिसम्म पूरा हुन सकेको छैन । धेरै आयात हुने मोटरसाइकल, गाडी, मदिरा र मोबाइलको आयातमा प्रतिबन्धका कारण आयात १६ प्रतिशतले घट्दा मात्रै विदेशी मुद्रा सञ्चितिको लक्ष्य हासिल हुन सम्भव भएको राष्ट्र बैंकको भनाइ छ ।
चालु आवको पहिलो महिना साउनमा अघिल्लो महिनाको तुलनामा १२ करोडले घटेर ९ अर्ब ४२ करोड डलर पुगेको थियो भने भदौ महिनामा थप ७ करोडले घटेर ९ अर्ब ३५ करोड डलरमा सिमित भएको थियो । असोज महिनामा १३ करोड डलर बढेर ९ अर्ब ४८ करोड डलरमा सीमित भएको तथ्याङ्क छ । यो सञ्चितिले ८.३ महिनाको वस्तु तथा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
गत आवभरिमा विदेशी मुद्रा सञ्चिति १ अर्ब ८८ करोड डलरले घटेको थियो । गत वर्षभरिमा पहिलो चार महिना राष्ट्र बैंकले तोकेको ७ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गरेको भए पनि पाँचौ महिनादेखि भने विदेशी मुद्रा सञ्चितिले साढे ६ महिनाको मात्रै वस्तु तथा सेवाको आयात धान्न पुग्ने विन्दुमा पुगेको थियो ।
चालु आवको पहिलो ३ महिनाको तथ्यांक अनुसार देशको आयात व्यापार १६ प्रतिशतले घटेको छ । आयात व्यापार घटेकै कारण देशमा सञ्चित विदेशी मुद्राले अहिले ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त भएको आकलन गर्न सकिन्छ ।
नेपालमा चालु आर्थिक वर्षको शुरुवाती ३ महिना अर्थात् असोज मसान्तसम्म २ खर्ब ८१ अर्ब ५ करोड रेमिट्यान्स भित्रिएको छ । यसैगरी सबैभन्दा विदेशी मुद्रा बाहिरिने आयात व्यापार १६ प्रतिशतले घटेको छ । यी दुवैले प्रत्यक्ष रुपमा देशको शोधनान्तर स्थितिमा असरर पारेको छ ।
धेरै रकम भित्रिने र थोरै रकम बाहिरिने गर्दा १४ महिनापछि पहिलोपटक नेपालको शोधनान्तर स्थिति सकारात्मक देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । बैंकले जारी गरेको तथ्याङ्क अनुसार असोज महिनासम्म देशको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा देखिएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



