गण्डकी प्रदेशका सबै जिल्लामा शान्तिपुर्ण रूपमा मतदान जारी

-



     सफल आवाज    
     मंसिर ४ गते २०७९ मा प्रकाशित



पाेखरा, ४ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेशका सबै जिल्लामा शान्तिपुर्ण रूपमा मतदान भइरहेकाे छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रदेशअन्तर्गतका सबै जिल्लामा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख होमनाथ पराजुलीले बताएका छन ।

उनका अनुसार अत्यन्त चिसो हुने हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङमा पनि मतदान सुरु भैसकेको छ । गण्डकी प्रदेशमा आजको निर्वाचनका लागि कुल १६ लाख ६२ हजार दुई सय ४६ मतदाता सहभागी बन्दैछन् । हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, तनहुँ हुँदै तराईको जिल्ला नवलपुरसहित ११ वटा जिल्लामा समेटिएको गण्डकीमा यस पटकको निर्वाचनमा ८ लाख ६९ हजार ५ सय ३८ जना महिला, ७ लाख ९२ हजार ६ सय ९७ जना पुरुष र ११ जना अन्य मतदाता छन् ।

छिमेकी दुई ठूला राष्ट्र चीन र भारतसम्म सिमाना जोडिएको यस प्रदेशमा आजको निर्वाचनबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि १८ वटा निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ३६ वटा निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा हुँदैछ । निर्वाचनका लागि प्रदेशमा २८ हजार कर्मचारी परिचालन भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।