प्रम देउवाको जिल्ला डडेल्धुरामा पनि मतगणना शुरु

-



     सफल आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित



डडेल्धुरा, ५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि मत गणना शुरु भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हिजो मंसिर ४ गते भएको निर्वाचनको मत गणना केही बेर अघि शुरु भएको हो ।

जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ भने प्रतिनिधिसभाको एक सिटका लागि नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री देउवा, सागर ढकाल लगायत ८ जना चुनावी मैदानमा छन् । विशेषगरी पटक पटक चुनाव जित्दै आएका प्रधानमन्त्री देउवाको यो क्षेत्रमा यस पटक स्वतन्त्र उम्मेदवार सागर ढकालको उम्मेदवारीले निकै चर्चा पाएको छ । यस हिसाबले पनि यो क्षेत्रको मत परिणामलाई निकै चासोका रुपमा हेरिएको छ ।  

स्वतन्त्र उम्म्दवार सागर ढकाल

उक्त क्षेत्रको मत आज अपराह्न ३:३० बजेदेखि गणना गर्न शुरु गरिएको हो । जिल्लामा ५६.६४ प्रतिशत मत खसेको आयोगको तथ्याङ्क छ । मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार जिल्लामा कुल मतदाता ९१ हजार २ सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको बताइएको छ ।

हालसम्मको प्रारम्भिक मत गणना अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् । उनले ४८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस (बीपी)का कर्ण मल्लले ४२ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र सागर ढकालले १७ मत प्राप्त गरेका छन् भने राप्रपाका गोविन्द खडायतले ४ मत प्राप्त गरेको तथ्‍याङ्क छ ।