धनुषा-३ मा एमालेका महतो, बारा-१ मा मैनाली, बारा-३ मा साह र तेह्रथुम प्रदेश (१)मा दुलाल विजयी

-



     सफल आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भइन।

निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरिन् भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गरे। महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेकी हुन्। दुईपटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बनेकी थिइन। यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ ।

बारा–३ बाट एमालेकी साह निर्वाचित

बारा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन। उनको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गरे।

बारा–१ बाट एमालेका मैनाली निर्वाचित

बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का अच्युत मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत ल्याए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार तीन सय १८ मत ल्याए । विसं २०७४ मा चौधरीले मैनालीलाई पराजित गरेका थिए ।

तेह्रथुम प्रदेशसभा(१) : एमालेका दुलाल विजयी

तेह्रथुमको प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ सय ५५ मत गरे। मतपरिणाम अनुसार विजयी दुलालले दुई सय आठ मतले प्रतिद्धन्द्वी सुब्बालाई पछि पारे।

प्रदेशसभा (१)अन्तर्गत छथर गाउँपालिका, लालीगुराँस नगरपालिका र म्याङलुङ्ग नगरपालिका रहेका छन् । यस क्षेत्रमा ४९ हजार एक सय २१ मतदाता रहेकामा २२ हजार चार सय २३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।