गुल्मी–१ मा कांग्रेसका डा. चन्द्र भण्डारी विजयी

-



     सफल आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित



गुल्मी, ९ मंसिर । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा ९एमाले०का प्रदीप ज्ञवालीलाई १ हजार ५ सय ९२ मतले पछि पार्दै उनी विजयी भएका हुन् । यो क्षेत्रमा कुल ६९ हजार ६ सय ८३ मत खसेकामा कांग्रेसका भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरे ।

आज दिउँसो १ बजे सकिएको मतगणनापछि भण्डारीलाई विजयी घोषणा गरिएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यहाँ कुल १ लाख १९ हजार २ सय ८८ मतदाता थिए । गुल्मीको सदरमुकाम तम्घाससँगै पूर्वी यो क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका–७ देखि १४ सम्मका वडा पर्दछन् ।

यो विजयसँगै कांग्रेसका भण्डारी दुई पटक सांसद बनेका छन् । उनले २०७० मा पनि यसै क्षेत्रमा विजय हासिल गरेका थिए । २०६४ देखि सँगसँगै निर्वाचन लडेका ज्ञवाली र भण्डारीले दुई-दुई पटक चुनाव जितेका छन्  । विसं २०६४ र ७४ मा भने यस क्षेत्रबाट ज्ञवाली विजयी भएका थिए ।